काठमाडौं । नेकपाभित्रको विवाद निर्वाचन आयोगमा जटिल बनेको देखिएका बेला कतिपयको ध्यान त्यहीँ दर्ता भएको नेकपा एमालेतर्फ मोडिएको पाइन्छ। आयोगले नेकपा र उसको चुनाव चिह्न सूर्य कसैलाई नदिनेगरी ‘फ्रिज’ गरिदिने आशंका र अनुमान भइरहेकाले पनि त्यसतर्फ चासो बढेको हो।
नेता माधवकुमार नेपाल समेत त्यस्तै आशङ्का आफ्नो दलको केन्द्रीय सदस्यहरूसँग प्रकट गरेको समाचार केही दिनअघि आएको थियो। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगमा दर्ता भएको नेकपा एमालेको चुनाव चिह्न उदाउँदो सूर्य हो।
उक्त पार्टीकी अध्यक्ष हुन्, सन्ध्या तिवारी भेटवाल। नर्सिङ पेसा छाडेर अहिले राजनीतिमा पूर्ण रूपले होमिएको बताउँदै उनले संंगठन विस्तारमा लागिरहेको सुनाइन्।
कतिपयले नेकपा र चुनाव चिह्न फ्रिज भएमा प्रधानमन्त्री केपी ओलीलाई दर्ता रहेको नेकपा एमालेबाट चुनाव लड्न तुलनात्मक रूपमा सहज हुने ठानेका छन्। अध्यक्ष तिवारीले आफूहरूले कसैको निर्देशनमा पार्टी दर्ता नगरेको र नेकपाका कुनै पक्षसँग सम्पर्क नरहेको दाबी गरिन्। पार्टीको नेतृत्व भने नछाड्ने उनको भनाइ छ। ‘त्यो त हुनै सक्तैन,’ तिवारी भन्छिन्, ‘हामी कोहीसँग जाँदैनौँ, हामी हाम्रै एमाले लिएर बस्छौँ।’ उनले ३३ वटा जिल्लामा आफूहरूले संगठन बनाइसकेको र कतिपय पूर्व एमालेहरू आफूहरूसँग रहेको बताइन्।
महासचिव मनीषकुमार उपाध्यायका भनाइमा दुवै पक्षले यसअघि जनताको बहुदलीय जनवादलाई वास्ता गरेनन् तर अहिले सजिलोको निम्ति त्यसलाई सम्झिरहेका छन्। उनले भने, ‘त्यसैले चुनाव भयो भने हामी दुवैसँग लड्छौँ।’
धेरै पार्टीलाई दशकौँसम्म देखेपछि जनताको सेवा गर्ने राजनीतिनै भएको ठम्याइमा पुगेर एमाले दर्ता गरेको उनले सुनाए। उनका बुझाइमा त्यो लोकतान्त्रिक अभ्यास हो, प्रतिगमन नभनौँ, आएको सङ्कटलाई ओलीजीले टार्नुभयो, उहाँसँग कुनै उपाय थिएन। कुनै पनि पार्टीले त्यही गर्थ्यो।
महासचिव उपाध्यायले नेकपा एक हुँदा राम्रो हुने र अझै ठाउँ रहेको बताए। विभिन्न व्यवसाय र जागिरमा रहेको बताउने उनी कपडा व्यवसायमा छन्।
कतिपयले उनी प्रधानमन्त्री ओलीनिकट नेता महेश बस्नेतनजिक रहेको बताउँछन्। तर ओली पक्षसँग निकट रहेको ठम्याइ अस्वीकार गर्दै महासचिव उपाध्याय भन्छन्, ‘राजनीतिमा कांग्रेस, माओवादीदेखि राप्रपासम्मका दलमा साथीभाइ छन्, तर त्यसैको भरमा अनुमान गर्नु ठिक होइन।’
नेकपाभित्र विवाद चर्किएका बेला प्रधानमन्त्रीनिकट केही नेताहरूले अनौपचारिक कुराकानीमा एमाले पार्टी दर्तातर्फ सङ्केत गर्दै पूर्वएमालेको पक्षमा ध्रुवीकरणको लक्ष्य सुनाउने गरेका थिए। तर अहिले प्रधानमन्त्रीलाई पूर्वमाओवादीका केही उच्च नेताहरूले पनि साथ दिएका छन् भने प्रचण्डको पक्षमा पूर्वएमालेका वरिष्ठ नेताहरू पनि सहभागी छन्।
–बीबीसीबाट




