काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छन् । बिहीबार अपराध अनुसन्धान महाशाखाबाट गएको प्रहरी टोलीले उनलाई शंखमूलस्थित निवासबाट पक्राउ गरेको हो ।
पक्राउका लागि बिहानै प्रहरी टोली आफ्नो निवास आए पनि झाँक्रीले पक्राउ पुर्जी जारी गरेर ल्याउन चुनौती दिएकी थिइन् । त्यसपछि प्रहरीले उनलाई राज्यविरुद्धका कसुरअन्तर्गत अभियोगमा पक्राउ पुर्जी जारी गरी पक्राउ गरेको हो ।
उनीविरुद्ध राज्यविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ । झाँक्रीले केही समय सार्वजनिक रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आलोचना गरेकी थिइन् । त्यही अभिव्यक्तिले राष्ट्रपतिको अपमान भएको, मानमर्यादामा असर पुगेको भन्दै नेकपा ओली समूहले कारबाही गर्न गृहमन्त्री रामकुमार थापा बादललाई ज्ञापनपत्र बुझाएको थियो । सोही पत्रअनुसार झाँक्रीमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।




