काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै नेताहरू एक पक्षबाट अर्को समूहमा जाने लहर नै चलिरहेको छ । पछिल्लो समय रौतहटबाट प्रतिनिधित्व गर्ने सांसद समिना हुसेनले प्रधानमन्त्री ओलीको साथ छोडेकी छन् ।
रौतहटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तथा नेकपा नेत्री समिना हुसेन प्रधानमन्त्री ओली पक्ष छाडेर नेकपा प्रचण्ड–नेपाल पक्षमा लागेकी छन् ।
सांसद हुसेनले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनपछि सिंगो राष्ट्र ओलीको विपक्षमा उभिएका बेला आफूलाई समेत ओली पक्षले प्रलोभन देखाए पनि आफू प्रचण्ड–नेपाल पक्षमा रहेको स्पष्ट पारेकी छन् ।
हुसेनले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै प्रचण्ड–नेपाल पक्षले जारी राखेको प्रतिगमनको विरोधमा हुने आन्दोलनमा सक्रिय हुने र अरु जनसमुदायलाई पनि सहभागी हुन सार्वजनिक अपिल जारी गरेकी छन् ।




