रिबन

ओलीमा सत्ता उन्माद, प्रतिनिधिसभा विघटनको बचाउ गर्न पञ्चायती शैलीमा शक्ति प्रदर्शन

काठमाडौं । अस्वस्थताको कारण देखाएर प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित कार्यालय नगएको ११ महिना बित्यो । तर, नेकपा (ओली समूह) ले दाङ, धनगढी र चितवनमा आयोजना गरेको सभामा ओली र उनका मन्त्रीहरू सरकारी ढुकुटी प्रयोग गर्दै हेलिकोप्टरमा पुगे ।

यतिबेला ओलीको काम पुस गरे गरेको प्रतिनिधिसभा विघटनको बचाउका लागि पञ्चायती शैलीमा शक्ति प्रदर्शन गर्नु रहेको छ । प्रधानमन्त्री ओली आफ्ना भाषणमा सुशासन कायम गरेको दावी गर्न छाड्दैनन् । तर उनले केही समययता आफ्नो पार्टी गतिविधिका लागि समेत सत्ता र शक्तिको दुरुपयोग गरिरहेका छन् । मन्त्रीहरूलाई त्यसरी नै खुला छाडेका छन् । ओलीका मन्त्री र निकट नेतामा बोलीको लगाम छैन ।

नेकपाको ओली समूहले शुक्रबार काठमाडौँको दरबारमार्गमा शक्ति प्रदर्शन गर्‍यो । राजनीतिक दलले शक्ति प्रदर्शन गर्नु सामान्य भए पनि प्रदर्शनस्थल भने सत्ताको उन्मादमा रोजिएको हो । दरबारमार्ग देशकै सबैभन्दा महँगो व्यापारिक स्थल मानिन्छ । त्यहाँ व्यापार गर्नेले महँगो भाडा तिर्छन् । तर ओली समूहको सभाका कारण दरबारमार्गको व्यापार व्यवसाय शुक्रबार ठप्प भयो ।

सभाका लागि सडकको बीचमा रहेका फलामका डिभाइडर रातारात हटाइयो । सडक विभागको खर्चमा चार वर्षअघि हालिएका डिभाइडर काठमाडौं महानगरपालिकाले हटाएको हो । महानगरका मेयर ओली निकट विद्यासुन्दर शाक्य छन् ।

डिभाइडर हटाउँदा महानगरपालिकाले न सडक विभागलाई सोध्यो, न त ट्राफिक प्रहरीसँग समन्वय गर्‍यो । अरू बेला धुलो उठाउन उतिसारो चासो नदिने सभालाई लक्षित गरेर महानगरले शुक्रबार बिहानै नारायणहिटी संग्रहालय आसपासको सडक पानीले सफा गरेको थियो । त्यो पनि सरकारी खर्चमै ।

ओलीले आफ्ना गुटका कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गराएका छन् । दल र गुटका कतिपय बैठक र भेला प्रधानमन्त्री निवासमै राख्नु त सामान्य भइसक्यो । ओलीको पालामा जस्तो सरकारी ढुकुटीको दोहन र राज्य सत्ताको दुरुपयोग कहिल्यै नभएको सर्वसाधारणले बताउन थालेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *