रिबन

ओलीको द्वैध चरित्र : भारतबाट कडा भाइरस नेपाल भित्रियो भन्ने उसैले दिएको भ्याक्सिन थाप्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको बोलीमा कुनै टुंगो छैन । मनमा जे लाग्छ पहिले बोलिहाल्ने, पछि मैले त यसो भनेको मिडियाले यस्तो लेखिदियो भनेर सत्तोश्राप गर्ने ।

बिहीबार भारतले दिएको १० लाख डोज कोभिडविरुद्धको भ्याक्सिन नेपाल आइपुग्यो । एयर इन्डियाको विमानबाट खोप ल्याइएलगत्तै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले सो भ्याक्सिन विमानस्थलमै हस्तान्तरण गरे । तर, साँझमा त्यही भ्याक्सिन बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर भारतीय राजदूत क्वात्राले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरे ।

दिउँसो स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण गरेको भ्याक्सिन राति प्रधानमन्त्री ओलीलाई किन हस्तान्तरण गरियो भन्ने धेरैले बुझ्न सकेनन् । स्वास्थ्यमन्त्री अहिले ओली निकट नेता छैनन् । त्रिपाठी स्वतन्त्रबाट सूर्य चुनाव चिन्ह लिएर जितेका हुन् । त्यसैले आफूले भारतलाई भनेर ल्याएको खोपको जस स्वास्थ्यमन्त्री त्रिपाठीले लेलान् भनेर हतारहतार दूतावासलाई भनेर बाुलवाटारले प्रधानमन्त्री ओलीलाई भ्याक्सिन हस्तान्तरण गरेको बताइएको छ ।

गत जेठतिर प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरस भारतबाट भित्रिएको भनेर अभिव्यक्ति दिएका थिए । उनले चिनियाँभन्दा बढी भारतीय भाइरस कडा भनेका थिए, जसको भारतमा व्यापक हंगामा मच्चिएको थियो । भारतीय मिडियाले प्रधानमन्त्री ओलीको आलोचना गर्दै समाचार बनाएका थिए । अहिले त्यही भारतले अनुदानमा उपलब्ध गराएको खोप बालुवाटारमै ग्रहण गर्न ओलीलाई कुनै ग्लानि भएन । विदेशीको सानो सहयोग लिँदा पनि सामान्य राजदूतको अगाडि प्रधानमन्त्रीले आफै घुँडा टेकेर हात थापेको भन्दै ओलीको आलोचना भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *