काठमाडौं । नेपालमा तीनजनामा कोरोना भाइरसको नयाँ स्वरुप (भेरियन्ट) देखापरेको हो । हालै बेलायतबाट आएका तीन नेपालीको स्वाव परीक्षण गर्दा उनीहरूमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत पुस पहिलो साता बेलायतबाट फर्केकामध्ये ६ जनालाई निगरानीमा राखी उनीहरूको स्वाव परीक्षण गर्न पुस २७ गते हङकङ प्रयोगशाला पठाइएको र सोमबार इमेलबाट रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ कोरोना देखिएकामा दुई पुरुष र एक महिला छन् । मन्त्रालयका अनुसार २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा रिपोर्ट नेगेटिभ आइसकेको छ र ६७ वर्षीय पुरुषमा पोजेटिभ देखिए पनि अझै कुनै लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जबसम्म नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध हुँदैन, तबसम्म सावधानी अपनाउन आग्रह पनि गरेको छ ।





