काठमाडौं । सत्तारुढ नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीपछिको नेता को भन्नेमा प्रतिस्पर्धा शुरु भएको छ । गृहमन्त्री रामबहादुर थापा बादललाई ओलीले आफूपछिको दोस्रो नेताका रुपमा स्थान दिने बताए पनि त्योअनुसारको व्यवहार हुन नसकेको र उपप्रधानमन्त्री र्इश्वर पोखरेल हाबी हुन थालेपछि इगोको लडाइँ सुरु भएको हो।
बादलले जबर्जस्ती ओलीपछि आफू नै भएको देखाउने गरी ओली गुटको भेला, बैठकहरुमा अभिव्यक्ति दिन थालेका छन् । जसका कारण उपप्रधानमन्त्रीसमेत रहेका पोखरेल झस्किन थालेका छन् ।
बादलले गत हप्तामात्रै ललितपुर महालक्ष्मीस्थानमा भएको खेलकुदकर्मीहरुको भेलामा ओली र आफूलाई समकक्षीको रुपमा चित्रित गर्दै भाषण दिएका थिए । उक्त भाषणपछि ओली गुटमा खैलाबैला भएको स्रोतले बताएको छ । बादलले त्यहाँ तपाईहरु प्रचण्ड नेपाल समूहमा लाग्ने कि ओली बादल समूहमा भन्दै ओली र आफू दुबै नेकपा अध्यक्ष रहेको सन्देश दिन खोजेका थिए ।
नेकपाको विधानमा दुई अध्यक्षको ब्यवस्था छ । अर्को पक्षमा प्रचण्ड अध्यक्ष छँदै छन् । ओलीलाई यो समूहले अनुशासनको कारबाही गर्दै पार्टी अध्यक्षबाट हटाएको छ । ओलीको स्थानमा पार्टी अध्यक्षमा वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष चयन गरेको छ । अहिले भने ओलीलाई साधारण सदस्यबाट पनि किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधिएको छ । त्यस्तै ओली पक्षले भने अब ओलीपछिको वरियतामा को भन्ने टुग्गो लगाएको छैन ।
बादलले प्रचण्ड नेपाल समूह छाडेर ओली समूहमा लाग्दा उनलाई ओलीले बामदेव गौतम पार्टीमा आए गौतमपछि र नआए आफूपछिको दोस्रो नेता बनाउने आश्वासनसहित आफ्नो समूहमा लगेको चर्चा चल्ने गरेको छ । तर व्यवहारमा भने त्यस्तो नभएको गुनासो उनले सुरु गर्न थालिसकेका छन् ।
काठमाडौंको भेलामा उनलाई पोष्टरमै समेत राखेर ओलीपछिको नेता देखाउन कोसिस गरिएको थियो । तर व्यवहारमा त्यस्तो नदेखिएपछि उनी असन्तुष्ट देखिएको स्रोतको भनाइ छ । त्यहाँ ओली पक्षका चार नेता मञ्चमा थिए । भाषण गर्ने क्रममा बादलले ईश्वरपछि आफूले बोल्न पाउने आस गरेका थिए । तर बादलको त्यो आस त्यहाँ मेटियो ।
सुरुमा कृष्णगोपाल श्रेष्ठ बोले, त्यसपछि बादल । तेस्रोमा ईश्वर र अन्तिममा केपी ओलीले काठमाडौंको कार्यकर्ता भेलामा सम्बोधन गरे । त्यहाँ बादलभन्दा ईश्वर नै अगाडि रहेको सन्देश ओली पक्षले दियो ।
त्यसपछिको ललितपुरको खेलकुदकर्मीहरुको भेलामा बादलले प्रचण्ड नेपाल समूहमा लाग्ने या केपी बादल समूहमा लाग्ने भनेर आफूलाई ओलीपछिकै दोस्रो नेता देखाउन खोजे । त्यसपछि भने प्रधानमन्त्री ओलीसँग पोखरेलले अहिले नै बादललाई आफूपछिको नेता भन्ने स्पष्ट पारिदिन आग्रह गर्न थालेको स्रोतहरुले बताएका छन् ।
बिना सिपाही एक्लै समूहमा आएको र उनको यो समूह निर्माणमा कुनै खास योगदान पनि नरहेकोलाई म कसरी सिनियर मानूँ ? हिजो एकीकृत पार्टीमा पनि म भन्दा जुनियर रहन सहमत रहेको र सरकारमा पनि आफूभन्दा मर्यादाक्रममा तल नै रहेको व्यक्तिलाई आफूले नेता मान्न नसक्ने दलिल ईश्वरले प्रधानमन्त्री ओलीसमक्ष गर्न थालेका छन् ।
पूर्वमाओवादी धारका र अहिले ओली क्याम्पमा लागेका ब्यक्तिहरु बादलसँग नजोडियून भनेर अहिले पोखरेलले तिनीहरुलाई बोलाइ बोलाइ आफूसँग नजिक तुल्याउने र भित्रभित्र बादललाई अहिलेदेखि नै कमजोर बनाउने रणनीतिमा ईश्वर जुटिसकेका छन् । त्यसका लागि उनले पूर्वमाओवादी समूहमा रहेका नेताहरुलाई अहिले महत्व दिएर भेटवार्ता गर्न थालेका छन् ।
उनले पछिल्लो समय गिरिधारीलाल न्यौपानेसँग भेट गरेका छन् । उनी तत्कालीन नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रबाट माओवादीमा आएका थिए । पछि उनले माओवादी विभाजनपछि बादल समूह रोजेका थिए । तर बादलसँगै उनी ओली समूहमा गएनन् । ओलीका मान्छेहरुले प्रदेश ५ का सांसदसमेत रहेका उनलाई प्रदेश सरकारमा सहभागी गराउने देखिका अनेक आश्वासन दिलाएर आफ्नो क्याम्पमा तानेका छन् ।




