रिबन

कांग्रेस केन्द्रीय समिति बैठक आज, यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बैठक बस्ने बताइएको छ ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सडक आन्दोलनमा होमिएको कांग्रेसको बैठक बीचमै बस्न लागेको हो । कांग्रेस बैठक पुस ७ गतेदेखि सुरु भएको थियो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसको विरोध कार्यक्रम गर्दै आएको कांग्रेसले आगामी रणनीतिको विषयमा छलफल गर्न लागेको हो ।

कांग्रेसभित्र सडक आन्दोलनको रणनीति र कार्यनीति बनाउनेबारे विवाद छ । सभापति शेरबहादुर देउवा ओलीको कदमको विरोध गर्दै चुनावमा जानुपर्ने पक्षमा छन् । रामचन्द्र पौडेल पक्ष ओलीले संसद् विघटन गरेर प्रतिगमन निम्त्याएको भन्दै संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा छ । सोही कारण सडकमा पनि कांग्रेसमा दुई धार देखिएको छ ।

देउवा अदालतमा विचाराधीन मुद्दाबारे केही बोल्न नहुने तर ओलीको कदमको विरोध गर्दै निर्वाचनको तयारीमा समेत लाग्नुपर्ने पक्षमा छन् । सोही किसिमको उनले निर्देशन पनि दिएका छन् । आजको बैठकमा कसरी अघि बढ्ने, १४औं महाधिवेशनको कार्यतालिका के गर्ने, भ्रातृसंगठनको कार्यकाल माघ १६ गतेसम्म रहेकाले अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *