काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आज सोमबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी रहने भएको छ। आइतबार बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको रिट निवेदनमाथि सोमबार पनि नियमित सुनुवाइ हुन लागेको हो।
आइतबारको बहसमा रिट निवेदक सन्तोष भण्डारी, अधिवक्ता गिरिराज भट्ट, डा.भीमार्जुन आचार्य र सुनिल पोखरेलले बहस गरेका थिए ।
चारैजना अधिवक्ताले विघटन मुद्दा राजनीतिक विषय मात्र भनी अदालत पन्छिन नमिल्ने बताएका थिए । अधिवक्ता भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको तर्क गरेका थिए ।
वरिष्ठ अधिवक्ता आचार्यले वर्तमान संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख नगरिएको दाबी गरेका थिए। उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल र तेजबहादुर केसीले सोधेको प्रश्नको पालैपालो जवाफ दिएका थिए ।




