रिबन

नेकपा होइन, कांग्रेससँग सम्बन्ध राम्रो बनाउँदै चिनियाँ कम्युनिस्ट पार्टी

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली चार दिने नेपाल भ्रमण पूरा गरेर आज बेइजिङ फर्किंदैछ । राष्ट्रपति सि जिन पिङले सत्तारुढ नेकपामा देखिएको विभाजन रोक्न आफ्ना विश्वास पात्रलाई नेपाल पठाएका थिए । तर, चिनियाँ टोली निराश हुँदै स्वदेश फर्किंदैछ ।

काठमाडौं ओर्लेदेखि कम्युनिस्ट पार्टीका नेताहरू भेटेपछि निराश बनेको चिनियाँ टोली मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेको थियो । भेटमा चिनियाँ टोलीले पूर्वप्रधानमन्त्री एवं कांगे्रेस नेता बिपी कोइराला सम्झँदै सबै पार्टीसँग सम्बन्ध सुदृढ गर्न नेपाल आएको बताएको थियो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस र चीनबीच पछिल्लो समय दूरी बढ्दै गएका बेला नेता गुओले कांग्रेससँग नेपाल–चीन सम्बन्धको पुरानो बिरासत जोडिएकोसमेत उल्लेख गरेका थिए । उनले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी जिनपिङको प्रत्यक्ष निर्देशन र रुचिमा टोली राजनीतिक दलहरुसँग संवादका लागि नेपाल आएको मात्र भनेनन्, गुओले कांग्रेस सभापति देउवालाई चीन भ्रमणको निम्तोसमेत दिए । चिनियाँ राष्ट्रपति सिको निम्तो देउवालाई टोलीले दिएको थियो ।

चिनियाँ नेता गुओले कांग्रेस नेतृत्वको सरकारका पालामा चीनसँग सम्बन्ध सधैं राम्रो भएको चर्चा गरेका थिए । ‘जुनसुकै परिवर्तन हुँदा पनि नेपाल चीन सम्बन्धमा परिवर्तन आउँदैन,’ गुओको भनाइ थियो।

हालै हुम्लामा भएको नेपाल चीन सीमा विवादबारे चिनियाँ मिडियाले कांग्रेसलाई लाञ्छना लगाउँदै लेख प्रकाशित गरेपछि कांग्रेस चीन नेतृत्वसँग रुष्ट थियो । सोही तिक्तता मेटाउन पनि चिनियाँ राष्ट्रपति सीले कांग्रेस सभापति देउवालाई चीन बोलाएको विश्लेषण गर्न थालिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *