काठमाडौं । डा. गोविन्द केसीले यो देश प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पत्ति नभएको बताएका छन् । देशमा सर्वसुलभ चिकित्सा शिक्षाको माग गर्दै पटकपटक अनशन बसेका केसीले संसद् भंगविरुद्ध गम्भीर आपत्ति जनाउँदै आइतबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री र राष्ट्रपतिको आलोचना गरेका हुन् ।
‘हालै प्रधानमन्त्री केपी ओलीले गरेको अवैध तथा अनधिकृत संसद् विघटनको प्रयासप्रति हाम्रो घोर आपत्ति , स्मरण रहोस्, यो देश प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पत्ति हैन।’
विधिको शासन स्थापनाका लागि आफूहरूले लामो समयदेखि प्रधानमन्त्री ओलीको अधिनायकवादी प्रवृत्तिको विरोध गरिरहेको उल्लेख गर्दै केसीले संविधान नै सर्वोपरि भएको बताएका छन्।
कुनै बेला देशलाई आफ्नो सम्पत्ति सम्झेका राजा ज्ञानेन्द्रलाई नागरिकले कसरी थान्को लगाए, त्यो नबिर्सन केसीले प्रधानमन्त्री ओलीलाई चेतावनी पनि दिएका छन्।
संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएको उल्लेख गर्दै उनले यस्ता कदमलाई न्यायालयले सच्याइदिने आशा आम नागरिकले राखेको बताएका छन्। ‘देशको न्यायालय पनि अग्निपरीक्षामा छ,’ उनले भनेका छन् । तर न्यायालयले जस्तो फैसला गरे पनि विधिको शासन र संविधान जोगाउने जिम्मेवारी हामी नागरिकसामु सधैं रहने उनले उल्लेख गरेका छन्।




