काठमाडौं । अन्ततः गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी ओलीलाई साथ दिने निधो गरेका छन् । उनी आफैंले यसको औपचारिक धारणा बाहिर नल्याए पनि आफू निकटलाई मन्त्रीक्वार्टरमा बोलाएर बाध्यता सुनाएका हुन् ।
उनले पुष्पकमल दाहाल प्रचण्डसँग दोस्रोपटक साथ छाडेका हुन् । माओवादी पार्टी रहेकै बखत उनी प्रचण्ड छाडेर मोहन वैद्य किरणसँग लागेका थिए । पछि फेरि प्रचण्डको पार्टीमा फर्केका थिए । अहिले उनी एक्लै ओलीसँग लागेका छन् । बादललाई साथ दिने सबैले उनलाई छाडेर प्रचण्डसँग बसेका छन् ।
बादलनिकट नेताहरू लेखनाथ न्यौपाने, महेश्वर दाहाल, कुलप्रसाद केसी सोनाम, दावा लामालगायतका नेताहरू भने प्रचण्डसँगै छन् ।
ओलीले आफूपछिको वरीयता दिने आश्वासन बादललाई दिएको बताइन्छ । तर, बादलभन्दा सिनियर ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल रहँदारहँदै ओलीको आश्वासनमा फस्नुलाई उनी निकट नेता कार्यकर्ताले आश्चर्य मानेका छन् ।
तत्कालीन एमाओवादीसँग एकता गर्दा नेकपा केन्द्रीय समितिमा बादल पक्षका ३४ केन्द्रीय सदस्य थिए । अहिले सबैले उनको साथ छाडेका छन् ।




