काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रदेश सभा विघटन गर्ने संकेत गरेका छन् । बुधबार राति योहो टेलिभिजनमा अन्तर्वार्ता दिँदै ओलीले प्रदेशमा सरकार परिवर्तनको संकेत देखिए अर्को कदम चाल्ने चेतावनी दिएका हुन् ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको थाहा पाएपछि संसद् नै विघटन गराएका प्रधानमन्त्री ओलीले आफूसमर्थक मुख्यमन्त्रीहरूविरुद्ध अविश्वास प्रस्ताव आए प्रदेश सभा पनि भंग गरिदिने संकेत गरेका हुन् ।
प्रदेशमा अविश्वासको प्रस्ताव आउन सक्ने सम्भावना देखिएको हो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुले प्रदेशमा पनि कदम चाल्नुभयो भने मैले थप कदम चाल्नुपर्ने हुन्छ ।’
संविधानले प्रदेश सभा विघटन गरेर राष्ट्रपति शासन लागू गर्न सक्ने व्यवस्था गरेको छ । त्यही व्यवस्थाअनुसार ओलीले प्रदेश सभा विघटन गर्न सक्ने कानून व्यवसायीको मत छ ।
पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा उनी निकट चार मुख्यमन्त्रीको पद संकटमा परेको छ । प्रदेश १ का शेरधन राई, बाग्मती प्रदेशका डोरमणि पौडेल, गण्डकीका पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका शंकर पोखरेलको जागिर धरापमा परेपछि ओलीले प्रदेश सभा नै विघटन गरिदिन लागेका हुन् । यो विषयमा उनले आफू निकट नेताहरूलाई जानकारी गराइसकेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरिसकेका छन् । उनी अहिले प्रतिनिधिसभा सदस्य छैनन् । संविधानको धारा ७७ (१) अनुसार प्रधानमन्त्री बन्न प्रतिनिधिसभा सदस्य हुनुपर्ने उल्लेख छ । त्यसैले प्रतिनिधिसभा सदस्य नभएको प्रधानमन्त्री कामचलाउ हैसियतमा छन् । तर, ओलीले आफूलाई अझै सर्वेसर्वा ठानेका छन् । उनी आबद्ध पार्टी नेकपाको बहुमत सदस्यले ओलीलाई अध्यक्षसँगै संसदीय दलको नेताबाट समेत हटाइसकेको छ ।




