रिबन

गगन थापा भन्छन्, जनताको आवाज अदालतसम्म लैजान पनि कांग्रेस आन्दोलनमा जानुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले आन्दोलनबाट निर्वाचनको पनि तयारी हुने भएकाले कांग्रेस तत्काल आन्दोलनमा जानुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्नु संविधानविपरीत हो भन्ने कुरामा कांग्रेसमा एक मत भएपछि त्यसका विरुद्धका कसरी प्रस्तुत हुने भन्नेमा मात्रै फरक फरक धारणा रहेको उनको भनाइ छ ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान कुराकानीका क्रममा उनले भने, मूल विचारमा फरक मत छैन, तर प्रस्तुति मात्रै फरक हो, ओलीले कु गरेको हो भन्नेमा एकजना पनि अलमलमा हुनुहुन्न ।’ प्रधानमन्त्री ओलीले निर्वाचन गराउनका लागि संसद भंग गरेको हो भन्ने भ्रममा नपर्न आग्रह गर्दै निर्वाचन नहुने सम्भावना अत्यधिक भएकाले निर्वाचनको तयारी मात्रै भनेर बस्नु गलत हुने तर्क उनले गरे ।

नेता थापाले ओलीले कु गरेको, सरकार असफल भएको, भ्रष्टाचार गरेको, मुलुक दुर्घटनामा जानुमा नेकपाका सवै शीर्ष नेता दोषी भएको कुरा बताउन पनि जनताको बीचमा तत्काल जानुपर्ने खाँचो औल्याए ।

काँग्रेसले सडक आन्दोलन र गाउँ गाउँ जाने कार्यक्रम एक्लै गर्नुपर्ने बताउँदै उनले अहिले निर्वाचन भन्दै बस्यो भने प्रतिक्रियावादीहरु मौलाउने खतरा रहने दावी गरे । जनतासँग अन्तरक्रिया गर्न, जनतालाई सजग गराउन र जनताका मुद्धा उठान गर्न संसद बन्द गरिदिएकाले सडकको विकल्प पनि नभएको उनको भनाइ थियो ।

‘जनताको घरदैलोमा गएर राष्ट्रपति र प्रधनमन्त्रीले घात गरे, सरकार असफल भयो, नेकपा निकम्वा भयो भन्ने सन्देश दिनुपर्छ, त्यसो गर्दै गर्दा निर्वाचनको तयारी पनि हुन्छ नी,’ नेता थापाले भने ।
निर्वाचनमा जानुहुन्न भन्नेमा कांग्रेसभित्र कोही पनि नरहेको जानकारी दिँदै उनले सिंगो नेकपाको असफलताका बारेमा गाउँगाउँमा पुगेर बताउदै गर्दा पनि निर्वाचनको तयारी हुने धारणा राखे । उनले अदालतलाई कुरेर बस्ने भन्दा पनि जनताको आवाज अदालतसम्म पुर्याउन पनि कांग्रेसले आन्दोलन गर्नुपर्ने तर्क गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *