रिबन

राष्ट्रपतिलाई भेटेर शीतल निवासबाट बाहिरिइन् चिनियाँ राजदूत यान्छी

काठमाडौं । नेपालमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी राजनीतिक रुपमा विभाजन भएको बेला काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी छन् । पौने ७ बजे शीतल निवास छिरेकी राजदूत यान्छी करिब ८ बजे शीतल निवासबाट बाहिरिएको स्रोतले बतायो ।

सरकारले संसद विघटन गरेपछिको उत्पन्न परिस्थिति र नेकपामा देखिएको विभाजका बीच चिनियाँ राजदूतको यो सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ । तत्कालिन एमाले र माओवादी केन्द्रबीच चुनाव गठबन्धन गराउन चिनियाँ भूमिका रहेको चर्चा हुने गर्छ ।

चुनावी गठबन्धनपछि बनेको नेकपामा विभाजन भइरहेका बेला राजदूत यान्छीले राष्ट्रपति भण्डारीलाई भेटेकी हुन्। यसअघि पनि सत्तारुढ दल नेकपामा विवाद हुँदा यान्छीले नेकपा नेताहरुलाई भेट्न् गरेकी थिइन् ।

राष्ट्रपति भण्डारी पनि नेकपाको विवादमा सक्रिय बन्दै आएकी थिइन् । संसद विघटन गर्ने सरकारको सिफारिशलाई तुरुन्तै सदर गरेपछि हाल राष्ट्रपति भण्डारीको भूमिकामाथि पनि प्रश्न उठिरहेको छ । यही बेला चिनिया राजदूत शितल निवास किन पुगिन भन्ने प्रश्न पनि उठेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *