काठमाडौँ । शनिबार बिहान अचानक नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेपछि राजनीतिक वृत्तमा एक प्रकारको तरंग पैदा भएको छ । यसअघि प्रधानमन्त्री ओलीलाई भेट्न पटकपटक बालुवाटार पुग्ने प्रचण्डलाई भेट्न ओली खुमलटार आउनुलाई राजनीति पूरै तरंगित बनेको हो ।
अर्को रमाइलो त के छ भने प्रधानमन्त्री ओली खुमलटार पुगेको १५ मिनेटको फरकमा उपाध्यक्ष वामदेव गौतम पुगेका थिए । प्रधानमन्त्री ओलीले भेटमा अध्यक्ष प्रचण्डलाई आफूमाथि लगाइएको आरोपपत्र फिर्ता लिन भनेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले यसको हल स्थायी समिति तथा केन्द्रीय समितिको बैठकबाट हुने बताए । अध्यक्ष प्रचण्डले भने, ‘पार्टी कमिटीमा गइसकेको हुनाले पार्टीमै छलफल र बहस गरेर हल खोज्नुपर्छ ।’
ओली प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको सन्दर्भलाई धेरैले राजनीतिक रणनीतिको रूपमा लिएका छन् । पूर्व एमाले र बहुदलीय जनवादको आडमा कित्ताकाट हुने स्थिति नरहेपछि बालुवाटार नयाँ रणनीति बनाउन जुटेको छ । नयाँ रणनीति बनाउन नै प्रधानमन्त्री ओली खुमलटार गएको स्रोतको भनाइ छ । जुनसुकै हत्कन्डा अपनाए पनि असफल हुँदै गएको ओली खुमलटार गएर फेरि एकपटक वामदेव गौतमलाई अध्यक्ष बनाउने कार्ड फ्याँकेका छन् ।
प्रधानमन्त्री ओलीले जसरी पनि एक पद छोड्नैपर्ने अवस्था आएको खण्डमा बामदेव गौतमलाई अघि सार्ने सोच बनाइरहेको स्रोतको दावी छ । स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीलाई जसरी पनि एक पद छोडाउन बाध्य पार्ने रणनीतिमा प्रचण्ड–माधव समूह लागिरहेको छ ।
सकेसम्म ओली प्रधानमन्त्री र अध्यक्षमध्ये दुवै पद नछाड्ने अडानमा छन् । अध्यक्ष पदबाट हटाउने अवस्थाको सिर्जना भएको खण्डमा वामदेवलाई अध्यक्षको प्रस्ताव गर्ने र सचिवालयको गठबन्धनलाई तितरबितर पार्ने योजनामा बालुवाटार रहेको स्रोतको भनाइ छ । बालुवाटार सकेसम्म प्रधानमन्त्री वा अध्यक्ष दुबै पद नछा्ने पक्षमा छ ।
भेटमा प्रधानमन्त्रीले प्रचण्डको १९ पृष्ठको र आफ्नो ३८ पेजको दुबै राजनीतिक प्रतिवेदन फिर्ता लिन भनेका छन् । खुमलटार स्रोतका अनुसार प्रधानमन्त्रीले प्रचण्डसँग ‘मिलेर जाऔं कमरेड, महाधिवेशनपछिको अध्यक्ष तपाईं नै हो’ समेत भनेका छन् । प्रत्युत्तरमा दाहालले औपचारिक रुपमा पेश भएका प्रतिवेदन र विषयहरु पार्टीको औपचारिक प्रक्रियाबाटै टुंगिने जवाफ दिएका थिए । आफू पुगेकै समयमा उपाध्यक्ष वामदेव गौतमलाई समेत प्रधानमन्त्रीले खुमलटारमा बोलाएको सन्दर्भलाई निकै चासो र अर्थपूर्ण मानिएको छ । पहिले बिहान साढे दश बजे भनिएको भेटघाटको लागि प्रधानमन्त्री एघारको हाराहारीमा मात्र खुमलटार पुगेका थिए ।
शुक्रबार पेरिसडाँडामा भएको १ नं प्रदेशस्तरीय भेलामा अनुपस्थित भएका गौतम शनिवार बालुवाटारको आग्रहमा खुमलटार पुग्नुलाई संयोगको रूपमा मात्र लिन नसकिने नेकपा नेताहरुले बताएका छन् । दुबैको राजनीतिक प्रतिवेदन र पार्टीभित्रको विवाद सचिवालयबाट फुत्केर स्थायी समितिमा पुगेकाले अब ती विषयको छिनोफानो सानो कमिटीतिरभन्दा ठूलो अर्थात् केन्द्रीय समितिमा नै पुगेर निर्णायक बनाउने प्रचण्ड नेपाल पक्षको तयारी छ । तर ओलीले गौतमलाई अघि सारेमा सचिवालयमा प्रचण्ड नेपाल समूह अल्पमतमा पर्ने देखिन्छ ।




