रिबन

सभामुख सापकोटालाई अप्ठेरो पार्दै ओली, सुरु भो पूर्वमाओवादी सिध्याउने अभियान

काठमाडौं । सत्तारुढ नेकपाभित्र एकले अर्को पक्षलाई सिध्याउने अभियान सुरु भएको छ । त्यसमा पनि पूर्वमाओवादी पक्षका नेता बढी नै टार्गेटमा परेका छन् ।

संवैधानिक परिषद्को बैठक बहिष्कार गरेर सरकारलाई अप्ठेरो पारेको भन्दै प्रधानमन्त्री केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाको राजनीतिक करियर नै ध्वस्त बनाउने रणनीति अख्तियार गरेका छन् । त्यसका लागि कथित जनयुद्धकालमा काभ्रेमा मारिएका अर्जुन लामा हत्याको मुद्दा फेरि ब्यूँत्याइएको छ । जसमा सापकोटा संलग्न रहेको अभियोग लागेको छ ।

सभामुख सापकोटाविरुद्धको मुद्दा संबैधानिक इजलासमा पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासहितको पाँचजना न्यायाधीशहरुको संबैधानिक इजलासमा सुनुवाइका लागि शुक्रबार पेसी तोकिएको हो ।

लामाकी श्रीमती पूर्णिमाया लामाले सापकोटाविरुद्ध जाहेरी दरखास्त गरी पाउँ भनेर दिएको निवेदन संबैधानिक इजलासमा पेशी तोकिएको हो ।

पूर्णिमायाले २०६९ मंसिर ७ गते सापकोटासहित माओवादी नेता कार्यकर्ताविरुद्ध दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश वैद्यनाथ उपाध्यायको एकल इजलाशले कारण देखाऊ आदेश जारी गर्दै हत्याको छानविन गर्न आदेश दिएको थियो । तर, सो विषय द्वन्द्वकालीन विषय भएकाले प्रहरीले छानविन गरे पनि अदालतमा सापकोटाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छैन ।

यसअघि सापकोटा सभामुख बन्ने बेलामा पनि उनको मुद्दामा सर्वोच्चले संवैधानिक इजलासमा पेसी तोकिएको थियो । द्वन्दकालको घटनामा संलग्न भएको व्यक्ति सभामुख हुन अयोग्य भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेका थिए । उनले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सापकोटा सभामुख भइसकेको र पदबहार समेत ग्रहण गरिसकेकाले अन्तरिम आदेश जारी गरिराख्नु नपर्ने भनी आदेश गरेको थियो ।

लामाको हत्यामा जोडिएको भन्दै प्रधानमन्त्री ओलीले सापकोटालाई सभामुख बनाउन अस्वीकार गरेका थिए । तर, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दबाबका अघि ओली गलेका थिए । अहिले तिनै सभामुख आफ्ना लागि बाटोको काँडा बनेको भन्दै ओलीले राजनीतिक भविष्य नै सिध्याउने खेल खेल्न लागेको पूर्वमाओवादी पक्षका एक नेताले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *