रिबन

विप्लव समूहप्रति सरकार कठोर हुने संकेतः मिक्लाजुङमा सशस्त्रको बेसक्याम्प

काठमाडौं । मोरङको मिक्लाजुङ गाउँपालिकामा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले शिक्षकको हत्या गरेपछि सरकार सो समूहप्रति कडा रुपले प्रस्तुत हुने संकेत गरेको छ ।

विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेपछि मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अस्थायी बेसक्याम्प स्थापना गरेसँगै देशभर प्रहरीले सो समूहप्रति निगरानी बढाएर कडा हुने संकेत गरेको हो ।

गृह मन्त्रालयले श्रेष्ठको हत्यासँगै प्रहरी महानीरिक्षक शैलेश थापा र सशस्त्र प्रहरी महानीरिक्षक शैलेन्द्र खनाललाई मन्त्रालयमै बोलाएर विप्लव समूह नियन्त्रणका लागि देशभर प्रहरी परिचालन गर्न निर्देशन दिएको हो ।

नेपाल प्रहरीले देशभरका सबै यूनिटलाई विप्लव समूहका गतिविधि र कर्यकर्ताहरुलाई निगरानी राख्न र सकेसम्म पक्राउ गर्न निर्दैशन दिइसकेको छ ।

साथै मन्त्रालयले मोरङको मिक्लाजुङ १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको हत्या भए लगतै मिक्लाजुङ १ स्थित आइतबारेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा वेस राखेको छ ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३६ सशस्त्र र नेपाल प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको टोली खटाएको छ । आपतकालीन अवस्थामा परिचालन गर्न मिल्ने गरी थप ‘रिजर्ब फोर्स’ पनि तयारी अवस्थामा पठाएको छ । त्यहाँ दुवै टोलीले विप्लव समूहविरुद्ध संयुक्त रुपमा सर्च अप्रेशन चलाएको छ । विप्लव समूहले घरैबाट अपहरण गरेर लगेका शिक्षक श्रेष्ठलाई आफ्नै नियन्त्रणमा राखेर घाँटी रेट्दै गत हप्ताको मंगलबार बिहान विभत्स हत्या गरेको थियो ।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमितेलगायत क्षेत्र र छिमेकी जिल्लामा पनि सर्च अप्रेशन चलाएको थियो । तर हत्या गर्ने सो समूहलाई भने अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

गत २०७५ फागुनमा सो समूहले ललितपुरको एनसेल गेट र वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा विस्फोट गरी एक जनाको ज्यान लिएपछि सरकार आक्रमक रुपमा प्रस्तुत भएको थियो । त्यसलगत्तै सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएर सुरक्षा फौजको संयन्त्र कडा रुपमा प्रस्तुत हुन थालेको थियो ।

गाउँ–गाउँमा विप्लवका नेता–कार्यकर्ताविरुद्ध ‘सर्च एण्ड अरेस्ट अपरेसन’ चलाइएको थियो । पछिल्लो दुईवर्ष यता देशभरबाट विप्लव समूहका करिब दुई हजार कार्यकर्ता पक्राउ परिसकेका छन् । अहिलेपनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुलाई निगरानीमै राखेको छ ।

गृह मन्त्रालयका प्रवक्ता गृह चक्रबहादुर बुढाले कानुन विपरित कार्य गर्ने जो कोहीलाई पनि सुरक्षा निकायले कानुनी कारवाहीको दायरामा ल्याउने बताए । उनका अनुसार संविधान विपरित कार्य गर्नेहरुलाई सुरक्षा निकायले निगरानीमा राखिरहेको पनि बताए ।

‘जुनसुकै व्यक्ति वा समूह भए पनि संविधान र कानुनले बर्जित गरेका गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनेछ’, प्रवक्ता बूढाले भने । उनले मिक्लाजुङ घटनामा संलग्नको पनि खोजीकार्य भइरहेको उनले बताए । ‘प्रतिबन्धित समूहका गतिविधि हिंसात्मक हुँदै जानुलाई मन्त्रालयले गम्भीर रूपमा लिएको छ संविधान र कानुनविपरीतका गतिविधि नियन्त्रण गर्न सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ,’ प्रवक्ता बूढाले भने ।

सुरक्षा निकायले देशभर विप्लव समूहविरुद्ध कडा निगरानी सुरु गरेसँगै सो समूहको सक्रियता बढी रहेका जिल्लामा सुरक्षा सक्रियता बढाइएको छ । चेकजाँच, गस्ती लगायत प्रहरी कारवाही अघि बढेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले कतिपय स्थानमा सामूहिक गस्ती परिचालन गरेका छन् भने राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाले पनि गोप्य रुपमा गतिविधिको निगरानी, सूचना संकलन लगायतका काम गरिरहेका छन् ।

विप्लव समूह आन्तरिक रुपमा चुनौती बन्दै गएको सुरक्षा निकायको निष्कर्ष छ । प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुवँरले विप्लव समूहका गविविधिमाथि कडा निगरानी सुरु गरिएको बताएका छन् ।

सरकारले दिएको निर्देशनअनुसार प्रहरी परिचालन भैरहेको उनले बताए । ‘विभिन्न घटनामा संलग्न रहेकाहरुलाई पक्राउ गर्ने, अनुसन्धान गर्ने, मुद्दा चलाउने, गोप्य सूचना संकलन गर्ने लगायतका काम भइरहेका छन्,’ प्रवक्ता कुँवरले भने । विप्लव समूहका गतिविधिमा पूर्ण रोक र निगरानी, शंकास्पद स्थानमा गस्ती पेट्रोल गर्ने काममा तिव्रता आएको पनि कँुवरले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *