नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को घरझगडाले मुलुकलाई बन्धक बनाएको लामो समय भएको छ । नेकपाको झगडा भागबन्डा, बाँडफाँड र खानपिनको व्यवस्थापनसँग मात्र सम्बन्धित छ । भ्रष्टाचारका अनगिन्ती काण्ड नेताहरू सबैका सार्वजनिक हुँदैछन् । कोही अछुतो देखिएनन्, सबैलाई सुविधा सम्पन्नताका लागि अनुकूल पैसा बनाउनु छ । चुनाव जित्न र पार्टी कब्जा गर्न पैसा आवश्यक छ, त्यसकै इन्तजाम गर्न सबै लाज त्यागेर एकसूत्रीय अभियानमा देखिन्छन्– सत्तारुढ दलका अधिकांश नेता–कार्यकर्ताहरू । विचार, सिद्धान्त, आदर्श, निष्ठा एकादेशको कथा भएको छ । त्याग कुन चराको नाउँ हो ? अबको पुस्ताले थाहा नपाउने नै भयो । अविवाहित भनिएका नारायणकाजी श्रेष्ठको दिल थाहा पाएपछि आममानिसले उनको धोती खुस्किएको देखिनै सके । बुझ्ने र थाहा पाउनेका लागि अनौठो नभए पनि जस–जसको भर र आशा थियो, उनीहरू पनि निराश भए ।
हामी जस्ता मानिसले त धेरै पहिलादेखि नै भन्दै आएको, लेख्दै आएको विषय हो कम्युनिस्टहरूले गरिखाँदैनन् । यिनीहरू झन् बढी भ्रष्ट र अनैतिक छन् । अरुले खाए, हामीले किन लुट्न नपाउने-नहुने भन्ने बुझाइ र मान्यताका साथ आएका व्यक्तिहरूले राम्रो सन्देश दिन सक्छन् भन्ने थिएन । साँच्चै जनताको जीवनस्तरमा सुधार ल्याउँछौ भन्ने गहिरो चिन्तन र प्रतिबद्धताका साथ राजनीतिमा आएकाहरू त बिग्रिए भने यी लुटेराहरूले चमत्कार गर्छन् भन्ने भ्रम पाल्नु व्यर्थ नै हो । यिनीहरू बिग्रिएकै छन्, बिग्रिएको देख्नु अस्वाभाविक होइन ।
हिजो पञ्चायतदेखि नै बिगिँदै बिग्रिँदै आएकाहरू आज सत्तामा रहँदा सुध्रन्छन् वा सप्रिन्छन् भन्ने अपेक्ष नै गलत हो । व्यक्ति को बिग्रियो वा बिग्रिएन भन्ने चिन्ता होइन किनकि बिग्रियो भन्ने चिन्ता व्यापक छ । लामो संघर्षबाट प्राप्त बहुदलीय संसदीय लोकतान्त्रिक पद्धति कमजोर, असफल र बद्नाम गराउने काम निर्वाचित कम्युनिस्टहरूले गरे । राष्ट्रपतिको भूमिकामा रहेर व्यवस्थालाई कमजोर बनाउने र बद्नाम गर्ने काम राष्ट्रपतिबाट पटकपटक दोहोरिएको छ । हुँदाहुँदा नेकपाको सचिवालयमा दुई महिला थपिए भनेर राष्ट्रपति र चिनियाँ राजदूतको भूमिकालाई लिएर व्यंग्य गरियो । प्रधानमन्त्रीले बिगारेका घटना कति छन् कति ? भ्रष्टाचार र अनियमितताको चाङ नै छ । बालुवाटारको खोपीभन्दा बाहिर निस्कन सकेका छैनन् केपी ओली । यो अवस्थाको फाइदा उठाउँदै राजावादीहरू सडकमा निस्किएका छन् ।
अविवाहित भनिएका नारायणकाजी श्रेष्ठको दिल थाहा पाएपछि आममानिसले उनको धोती खुस्किएको देखिनै सके
मोरङमा प्राथमिक तहका शिक्षकको हत्या कम्युनिस्टको नाउँमा सुरु भएको छ । निहत्था व्यक्ति हत्याको राजनीति पूर्वमाओवादीको नाउँमा भएको छ । पुष्पकमल दाहाल प्रचण्डका कुनै समयका विश्वासपात्रको नेतृत्वमा विकट गाउँमा शिक्षाको दीयो बालिरहेका शिक्षक मारिएका छन् । दूरदराजमा बसेर काम गर्ने व्यक्तिहरू त्रसित भएका छन् । जनमानस आतंकित भएको छ । झन्डै दुई तिहाइको सरकार घरझगडामा रूमलिएको छ । सरकार बनाउने दलका भूमाफियाहरू एकपछि अर्को भ्रष्टाचार र अनियमितताको काण्डमा मुछिएका छन् । प्रधानमन्त्री आफ्ना गुटकालाई संरक्षण दिन समय खर्चिरहेका छन् र प्रचण्ड आफ्नो समूह बचाउन कम्मर कसेर लागेका छन् । सडकमा किन व्यवस्था विरोधी नारा लाग्न थाल्यो, मानिसको सुरक्षा किन भएन ? हत्या र हिंसाको शृंखला किन सुरु भयो ? महामारी नियन्त्रण तथा विश्व बजारमा आएको खोपको प्रबन्ध कसरी गर्न सकिन्छ भन्ने विषयमा न नेकपाको झगडमा छलफल हुन्छ, न सरकार गम्भीरता देखाउँछ, न त प्रतिपक्ष दलले सरकारमाथि दबाब बढाउन सकेको छ ।
यस्तो अवस्थामा नेपाल र नेपाली जनताले अभिभावकविहीन भएको महसुस गरिरहेका छन् । असन्तुष्टि र असहयोग गरिरहेको अवस्था छ । यसको फाइदा उठाउन प्रतिक्रियावादीहरू क्रियाशील छन् । अधिक विश्वास गरिएका प्रधानमन्त्री ओली र जनसमर्थन प्राप्त रहेको नेकपाको कार्यशैली, प्रस्तुति र व्यवहारले व्यवस्थाप्रति नै आक्रोश बढाउने परिस्थिति बनाएको छ ।
प्रत्येक मानिसको मनमा गडेको विषय के छ भने राजनीतिमा लागेका तलदेखि माथिसम्मका मानिसको जीवनशैली कसरी चलेको छ ? उनीहरूको खर्च व्यवस्थापन र महँगो जीवन पद्धतिका स्रोत के हो ? कहाँबाट घर, गाडी, महँगो पहिरन र सुखसुविधा प्राप्त भएको छ ?
सडकमा पोखिएको आक्रोश व्यवस्थापन भएन भने सबै सडकमा आउने दिन आउँछ
उत्तरदायी व्यक्तिले जनमतको त्यो प्रश्नको चित्तबुझ्दो जवाफ दिन आवश्यक छैन ? हाम्रो प्रतिनिधि राम्रो मान्छे हो भन्ने विश्वास लाग्नु आवश्यक छैन ? तडकभडक, तामझाम, होडबाजी, सत्ताको हतारो, महँगो जीवनले भ्रष्ट आचरण र व्यवहार देखापर्दैन र ? उसबाट के अपेक्षा गरिन्छ ? अपेक्षा भएका, त्याग गरेका व्यक्तिहरूको आजको आनिबानी व्यवहार त देखिएको छ भने भोलिको नेतृत्व गर्छु भन्नेको त्यस्तो किसिमको भद्दा, भ्रष्ट, अनि भड्किलो व्यवहारबाट कसरी आममानिस विश्वस्त हुन सक्छ ? यस्तो प्रवृत्ति फस्टाएको अवस्था टुलुटुलु हेरेर सडकमा निस्किएका मानिस गलत हुन भन्न सकिन्छ ?
आफ्नो मतदाता, समर्थक एवं शुभेच्छुकलाई विश्वासमा लिन नसक्ने राजनीतिक नेतृत्वले अरुको आलोचना र विरोध गर्ने हैसियत राख्न सक्छन् ? भ्रष्टहरूको बिगबिगीले स्वीकार गर्नुपर्छ भन्ने छ र ? कुनै वाद वा विचारको आवरणमा देश लुट्ने छुट दिन सकिन्छ ? किमार्थ सकिँदैन । सडकमा पोखिएको आक्रोश व्यवस्थापन भएन भने सबै सडकमा आउने दिन आउँछ । जनताले सत्तामा पु¥याएका हुन्, तिनै जनताले सडकमा पनि ल्याउँछन् भन्ने यथार्थताबोध राजनीतिक नेतृत्वले गरेन । जनताका विश्वासमाथि मजाक गर्ने काम मात्र ग¥यो भने दुर्घटना अवश्यम्भावी छ । त्यो बेला को कहाँ पुग्छ, यसै भन्न सकिँदैन । दुर्घटनाको परिणाम यसै हुन्छ भन्न त सकिँदैन, तर लोकतन्त्रको विकल्प निरंकुशतन्त्र वा अधिनायकवाद हुन सक्दैन भन्ने निश्चित छ ।




