मुख्य समाचार

नेकपा विवाद मिलाउन फेरि चिनियाँ राजदूत यान्छी सक्रिय, पुगिन् प्रचण्ड निवास खुमलटार

काठमाडौं । पछिल्लो समय नेपालमा चिनियाँ हस्तक्षेप खुलमखुला बढेको छ । त्यसमा पनि वर्तमान राजदूत होउ यान्छी त नेकपा नेताको घरघरमै पुग्ने गरेकी छन् ।

अहिलेसम्म प्रधानमन्त्री केपी ओलीको कुर्सी जोगाउन उनले निकै ठूलो भूमिका खेलिरहेकी छन् । नेपाललाई आफू अनुकूल निर्णय गराउन चाहेको चीनले सत्तारुढ नेकपा विभाजन हुन नदिन बेलाबेलामा दबाब दिँदै आएको छ ।

त्यसकै निरन्तरताका लागि चिनियाँ राजदूत होउ यान्छी सोमबार बिहान नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेकी छन् । प्रचण्ड र राजदूत यान्छीको भेटबारे विस्तृत जानकारी गराइएको छैन । तर, उनी नेकपामा देखिएको विवाद मिलाउनकै लागि खुमलटार पुगेको स्रोतले बताएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई लेखेको पत्रका कारण पार्टीमा अहिले बबन्डर मच्चिएको छ । प्रधानमन्त्री ओलीले प्रचण्डलाई आफूमाथि लगाइएको आरोप फिर्ता लिन आग्रह गर्दै आएका छन् । तर, प्रचण्ड टसमस नभएपछि चिनियाँ राजदूत यान्छीमार्फत बालुवाटारले दबाब दिन थालेको विश्लेषण गर्न थालिएको छ ।

नेकपाको सचिवालय बैठक मंसिर १३ गते बस्दैछ । तर, त्यसैदिन चिनियाँ रक्षामन्त्री वेई फेङ आउने भएकाले स्थगित हुने प्रबल सम्भावना छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *