काठमाडौं । प्रधानमन्त्री केपी ओलीले १२ घन्टाको अवधिमा दुईचोटि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । मंगलबार राति शीतल निवास पुगेर राष्ट्रपतिसँग परामर्श गरेका ओली बुधबार १० बजेतिर फेरि पुगेका थिए । एक घन्टाको छलफलपछि ओली बालुवाटार फर्केका छन् ।
राष्ट्रपति भण्डारीले मंगलबार राति नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी तथा प्रधानमन्त्री ओलीसँग पालैपालो कुराकानी गरेकी थिइन् । उनले नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई समस्या समाधानका लागि आवश्यकता परे आफ् उपस्थितिमा लिखित सहमति गर्न सकिनेसम्मको वचन दिएको खुमलटार स्रोतले जनाएको छ । राष्ट्रपतिले ‘महाधिवेशनसम्म कार्यकारी अध्यक्ष, त्यसपछि एकल अध्यक्षको वचन अनि एक वर्षपछि चुनावी सरकारको नेतृत्व’ दिन सकिनेसम्मको रोडम्याप देखाएको बताइएको छ । जवाफमा प्रचण्डले ‘मैले कति त्याग गरेको छु, तपाईंलाई पनि थाहा हुनुपर्छ । अब मिल्ने हो भने उहाँ (प्रधानमन्त्री केपी ओली) ले त्याग गर्नुपर्छ । त्यत्तिकै अघि बढ्न सकिँदैन’ भनेका थिए ।
मंगलबार राति प्रचण्डपछि राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइनु । प्रधानमन्त्रीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न अधिकतम प्रयास गरेको स्रोतको दाबी छ । तर, राष्ट्रपति भण्डारीको प्रधानमन्त्रीलाई सुझाव थियो, ‘अध्यादेश ल्याउनुभयो भने फेरि फस्नुहुन्छ ।’
गत वैशाखमा पनि प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका थिए । जसको चौतर्फी विरोधपछि फिर्ता लिन सरकार बाध्य भएको थियो । दुई मधेसवादी दल विभाजन गर्ने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएलगत्तै दुई दल आपसमा मिलेर अहिले जनता समाजवादी दल बनेको छ ।




