मुख्य समाचार

राष्ट्रपति भण्डारीलाई जबर्जस्त विवादमा तान्दै ओली

काठमाडौं । पार्टीमा आन्तरिक किचलो चरमचुलीमा पुगेपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली शनिबार शीतल निवास पुगे । दिउँसो ४ बजे शीतल निवास पुगेका उनी साँझ ६ बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीसँग कुराकानी गरेर बालुवाटार फर्के ।
प्रधानमन्त्री शीतल निवास नपुग्दै नेपाली राजनीति वृत्तमा अनेकथरीका अनुमान सुरु भइसकेका थिए । ओलीले एक्कासि राष्ट्रपति भण्डारीलाई किन भेट्न पुगे ? कतै राष्ट्रपतिलाई दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सल्लाह गर्न पुगेका त होइनन् ? पूर्वएमाले जो नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट पुगेका छन्, उनीहरूलाई फर्काउन राष्ट्रपतिलाई आग्रह गर्न पुगेका त होइनन् ? संसद् विघटन गरी निर्वाचनको मिति तोक्न सल्लाहका लागि शीतल निवास पुगेका त होइनन् ? भन्ने चर्चा परिचर्चा सुरु भइसकेको थियो ।
किनभने ओली शीतल निवास जानुअघि आफ्ना केही निकटस्थ नेताहरूसँग छलफल गरी त्यता लागेका थिए । सँगै दुई तीनजना नेता पनि लिएर गएका थिए । दुई घन्टासम्म राष्ट्रपतिसँग प्रधानमन्त्रीले छलफल गर्नुको अर्थ के ? यतिबेला यो विषयमा निकै टिप्पणी भइरहेको छ ।
यसै पनि राष्ट्रपति निकै विवादमा परिसकेकी छन् । उनी नेकपा कि देशको राष्ट्रपति भन्दै जनताले प्रश्न सोध्न थालिसकेका छन् । नेकपा त्यसमा पनि ओली गुटका नेतालाई मात्रै भेट्ने, पार्टीमा आफ्नो हैसियत अझै पनि छ भन्ने देखाउन भण्डारी राजनीतिमा सक्रिय हुन खोजेको आभास सबैले गर्न खोजेका छन् ।
राष्ट्रपति भण्डारीभन्दा पनि उनलाई विवादमा तान्ने काम प्रधानमन्त्री ओलीबाट हुँदै आएको छ । पार्टीमा केही समस्या देखियो कि ओली तत्काल राष्ट्रपति भण्डारी भेट्न शीतल निवास पुग्ने गरेका छन् । अहिलेसम्म राष्ट्रपति भण्डारीले आधा दर्जनपटक नेकपामा हस्तक्षेप गरेर ओलीको कुर्सी बचाइदिएकी छन् । तर, यसपटक भने भण्डारीलाई पनि सजिलो छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *