रिबन

प्रचण्डले ओलीमाथि संगीन आरोपसहित एकल प्रस्ताव गरेपछि नेकपा एकता जटिल मोडमा : शंकर पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई संगीन आरोपसहित एकल प्रस्ताव गरेपछि पार्टी एकता जटिल मोडमा पुगेको बताएका छन् । पोखरेलले प्रचण्डलाई एकल प्रस्ताव फिर्ता लिई संवादको वातावरण मिलाउन आग्रह पनि गरेका छन् ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले प्रचण्डसहित पाँच नेतालाई लेखेको पत्रमा उनीमाथि गम्भीर आरोप मात्र लगाइएको छैन, आफू एक नम्बरको अध्यक्ष भएको र आफूले भनेको प्रचण्डले मान्नुपर्ने तर्र्क गरिएको थियो । प्रचण्डले जहिले पनि गुटबन्दी गरेको, कुनै काम नगरेको आरोप पनि लगाएका छन् । त्यसपछि प्रचण्डले १० पृष्ठको पत्र लेख्दै ओलीमाथि संगीन आरोप लगाएका छन् । उनले आफूलाई ओलीले कुनै काम गर्न नदिएको, पार्टी एकता विभाजन गर्न लागेकोलगायतका गम्भीर आरोप लगाएका छन् । जसका कारण शुक्रबारदेखि नेकपा विभाद झन् जटिल मोडमा पुगेको छ ।
सत्तारुढ नेकपामा दुई अध्यक्षले एकअर्कालाई लेखेको पत्रलाई अहिले नेपाली राजनीतिमा ‘लेटर बम’ को संज्ञा दिइएको छ । केपी ओलीले प्रचण्ड र प्रचण्डले ओलीलाई लेखेको पत्रले नेकपा विभाजनको डिलमै पुगेको महसुस सबैले गर्न थालेका छन् ।
शंकर पोखरेलले शनिबार सामाजिक सञ्जालमा पत्र लेख्दै प्रचण्डलाई एकल प्रस्ताव फिर्ता लिन गरेका हुन् ।
उनी लेख्छन्, ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु । व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *