काठमाडौं । सत्तारुढ नेकपामा बैठक बोलाउने कि नबोलाउने भन्ने विषयमा विवाद बढ्दै जाँदा नेताहरूबीच नै बोलचाल बन्दको अवस्था आएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब एक्लै प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार नजाने घोषणा गरेपछि स्थिति पेचिलो बनेको छ ।
विगतमा प्रधानमन्त्रीले बोलाउनेवित्तिकै प्रचण्ड बिहानै बालुवाटार पुग्ने गर्थे । तर, सधैं झुलाइरहने भएपछि प्रचण्डले अब ओलीसँग भेटवार्ता गर्न बालुवाटार जानुको औचित्य नरहेको बताएपछि अहिले उनको निवास खुमलटारमा बालुवाटारका विशेष दूतको आउजाउ बढेको छ ।
प्रधानमन्त्री ओलीले सोमबार पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई प्रचण्डसँग कुराकानी गर्न खुमलटार पठाएका थिए । तर, प्रचण्डले ओलीसँग एक्लै वार्ता नहुने, बैठकमै सबै निर्णय हुने बताएपछि सोही सन्देश लिएर पौडेल बालुवाटार पुगेका थिए ।
मंगलबार दिउँसो प्रधानमन्त्री ओलीका विश्वास पात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका छन् ।
प्रचण्ड र माधव नेपाल समूहले २४ घन्टाको समयसीमा बढाएपछि आज साँझसम्म पनि ओलीले सचिवालय बैठक नबोलाए आफैं बोलाउने मनस्थितिमा प्रचण्ड देखिएका छन् । सोही संकट टार्न पनि ओलीले मुख्यमन्त्री पोखरेललाई खुमलटार पठाएका हुन् । अहिले प्रचण्ड र पोखरेलबीच छलफल जारी रहेको स्रोतले बतायो ।




