काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्ले भेट गरी पार्टीको आन्तरिक विषयमा छलफल गरे । भेटमा उनले पार्टी एकतालाई सुदृढ बनाउन सुझाव दिए । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा शुक्रबार दिउँसो भेटगरी सो विषयमा नेम्वाङले छलफल गरेका हुन् । दुई अध्यक्षबीच गम्भीर वार्ता गरी पार्टीको आन्तरिक समस्या छिटो समाधान गर्न सुझाव दिएका थिए ।
पार्टीका नेताहरुसँग ‘साइडलाइन’ छलफल र बैठक गर्दा कार्यकर्ता र जनताबीच गलत सन्देश गएको भन्दै अध्यक्ष प्रचण्डलाई उनले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरी सहमतिमा पुग्न आग्रह गरे। पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले सचिवालयका सदस्यसँग गरेको छलफल पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएको उनले बताए ।
सचिवालयका सदस्यहरुसँग छलफल गरी त्यसबाट आउने सुझाव र निस्कर्षका आधारमा प्रधानमन्त्रीसँग छलफल गर्ने कुरा अध्यक्ष प्रचण्डले आफूलाई बताएको नेता नेम्वाङले जानकारी दिए । उनका अनुसार दुई अध्यक्षबीच सम्भवतः शनिबार गम्भीर वार्ता हुनेछ ।
यसअघि भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले पारित गरेको अध्यक्षद्वयको प्रस्ताव र सचिवालय बैठकले त्यसलाई अनुमोदन गरिसकेकाले त्यसको कार्यान्वयनमा जोड दिन आफूले अध्यक्ष प्रचण्डलाई सुझाव दिएको नेता नेम्वाङ्लले जानकारी दिए ।
“अध्यक्ष प्रचण्डले बालुवाटार वार्ताका लागि आउँदिन भन्नुभएको रहेनछ, मिडियामा गलत समाचार आयो’ नेता नेम्वाङ्ले भने, “अब त झन घनिभूत छलफल गरेर अघि बढ्छु भन्नुभएको छ, सचिवालयका केही सदस्यहरुसँगको आजको छलफलको आधारमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गर्छु भन्नुभएको छ ।”
गत बिहीबार भएको दुई अध्यक्षबीचको छलफलमै सचिवालयका सदस्यहरुसँग परामर्श गरेका थिए । अध्यक्ष प्रचण्डले आज धुम्बाराहीमा सचिवालय सदस्यसँग छलफल गरेका थिए ।
भेलामा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पारखेल, महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादलको सहभागीता छैन । सचिवालयमा नौ जना सदस्य रहेका थिए । छलफलपछि नेकपाका शीर्ष पाँच नेता प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।




