मुख्य समाचार

प्रधानमन्त्रीविरुद्ध प्रचण्ड निकटका सांसदहरुको हस्ताक्षर संकलन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा पुगेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट नेताहरु देव गुरुङ र उर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् ।

प्रचण्ड निवासमा भेला भएका पूर्व माओवादीका नेताहरुले आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन अभियान शुरु गरेका हुन् । उनीहरुले माधव नेपाल समूहका नेताहरुलाई पनि हस्ताक्षर अभियानमा संलग्न हुन आग्रह गरेपनि नेपाल समूहका नेताहरुले भने अहिले नै समय नआएको बताउदै पन्छिएका छन् ।

एकता प्रकृया गम्भीर संकटमा परेपछि प्रचण्डले आफू पक्षीय नेताहरुसँग भेटघाट गरेर हस्ताक्षर संकलन गर्न निर्दैशन दिएका थिए । खुमलटार स्रोतका अनुसार उनी अहिले उनीहरु छलफलमा व्यस्त रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी अलग अलग गरौ भनेपछि आफू निकटका स्थायी समिति सदस्यहरूलाई काठमाडौं बोलाएका थिए । पूर्वमोओवादी कोटामा स्थायी समिति सदस्य भएका सबै नेताहरुलाई परामर्शका लागि काठमाडौ बोलाएर अहिले सांसदहरुको हस्ताक्षर संकलन भएको स्रोतको दावी छ ।

कर्णालीमा मुख्यमन्त्रीविरुध्द आफ्नै दलका नेताले अविश्वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको नेकपाको पछिल्लो विवाद फुटको सँघारमा पुगेको छ । यसअघि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले खुलासा गरेका थिए ।

यता नेकपाभित्रको आन्तरिक विवाद चुलिएपछि सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘वादल’ विवाद मिलाउन वालुवाटार खुमलटार दौडधुप शुरु गरेका थिए । उनले विवाद सुल्झाउने प्रयास गरेका छन् । उनले दुवै अध्यक्षलाई भेटेर दुई वटा समूह बनाएर पार्टी अलग गराउने विषयमा छलफल नगर्न दुवै अध्यक्षलाई आग्रह गरेका थिए । उनले दुवै अध्यक्षलाई चार वटा प्रस्ताव राखेका छन् ।

स्थायी कमिटी बैठकको निर्णय अक्षरस पालाना गर्नुपर्ने, दुवै अध्यक्षले गुटगत भेला रोक्नु पर्ने, स्थायी कमिटीको निर्णय पालाना गर्ने भन्दा उल्लंघन गर्ने परिपाटी रोक्नु पर्ने, निर्णय कार्यान्वयनमा दुवै अध्यक्षको दायित्व पूरा गर्नु तथा सचिवालय बैठक, स्थायी कमिटी र केन्द्रीय कमिटी जस्ता बैठकबाट विवाद निरुपण गर्नु प्रस्ताव राखेका छन् । हस्ताक्षर अभियानका वादल निकटका सांसद गुरुङले नै नेतृत्व गरिरहेका छन् । संसदीय दलका सचेतक रहेका गुरुङको भूमिकाको विषयलाई लिएर ओली असन्तुष्ट रहँदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *