मुख्य समाचार

प्रधानमन्त्री ओलीविरुद्ध हस्ताक्षर अभियान सुरु

काठमाडौं । भारतीय सेना प्रमुख नेपाल भ्रमणमा रहिञ्जेल सरकार परिवर्तनको गृहकार्य स्थगित गर्ने निचोडमा नेकपाको प्रचण्ड–नेपाल पक्ष पुगेको छ । गत सोमबार कार्यकारी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालबीच यो सहमति भएको हो ।

समाचार स्रोतका अनुसार आगामी आइतबारदेखि प्रचण्ड र नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निर्णायक अभियान सुरु गर्नेछन् । प्रधानमन्त्री ओलीलाई राजीनामाका लागि कात्तिक महिनाभरिको समय दिने, त्यसपछि पनि अटेर गरे अविश्वासको प्रस्ताव ल्याएर फाल्ने अभियानमा प्रचण्ड–नेपाल छन् । प्रधानमन्त्री ओलीलाई हटाउनका लागि आफूसँग पर्याप्त बहुमत भएको दावी प्रचण्ड–नेपाल पक्षको छ । नेपाललाई प्रधानमन्त्रीका रुपमा अघि सारिने प्रतिबद्धता प्रचण्डले व्यक्त गरिसकेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्डले गत शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर पदबाट राजीनामा दिन आग्रह गरेका थिए । तर प्रधानमन्त्री ओलीले त्यो आग्रहलाई अस्वीकार मात्रै गरेनन्, प्रचण्डलाई दुत्कारेरै बालुवाटारबाट विदा गरे । मन्त्रिमण्डल पुनगर्ठन, राजदूतहरुको नियुक्ति, कर्णाली विवाद र ‘रअ’ का प्रमुखसँगको अपारदर्शी भेटघाट प्रति आपत्ति जनाउँदै कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने गृहकार्य आरम्भ गरेका थिए ।

यसअघि यही कात्तिक ४ गते प्रधानमन्त्री ओलीलाई भेटेरै चेतावनी दिएका अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री ओलीले निरन्तर भेटवार्ताको प्रयास गरे पनि सफल हुन सकेका थिएनन् । अनेकथरि बहाना बनाउँदै प्रचण्डले भेटघाट गर्ने ओलीको प्रस्ताव आलटाल गरेका थिए । अर्थमन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेलको ठूलो प्रयास पछि प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न प्रचण्ड राजी भएका हुन् ।

शनिबार प्रधानमन्त्री ओलीसँग भेट्न जानुअघि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग लामो छलफल गरेका थिए । छलफलका क्रममा ओलीको राजीनामा नै बटम लाइन बनाउने सहमति प्रचण्ड र नेपालबीच भएको थियो । त्यही कुरा प्रचण्डले ओली समक्ष राखेका हुन् । समाचार स्रोतका अनुसार उक्त भेटघाटमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई भने– ‘ तपाइँले सरकार चलाउन सक्नु भएन, चौतर्फी असन्तुष्टि छ, जनता निराश छन्, यस्तै अवस्था लम्बियो भने लोकतन्त्रमाथि खतरा उत्पन्न हुन्छ, त्यसैले तपाइँको राजीनामा नै अहिलेका लागि सुरक्षित अवतारण हो ।’ प्रचण्डको यो आग्रहपछि प्रधानमन्त्री ओली निकै आक्रोसित भएका थिए, उनको अनुहारमा आक्रोस प्रकट भए पनि शब्दमा भने व्यक्त गरेनन् ।

यो आक्रोस पछि प्रचण्डले भने– ‘तपाइँले मात्रै त्याग गर्नुपर्छ भनेर मैले भनेको होइन, म पनि त्याग गर्न तयार छु, माधवजीलाई प्रधानमन्त्री बनाएर सुरक्षित अवतरणको बाटो खोलौं ।’ राजीनामा नदिए आगामी छठ पर्वपछि प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता हुनसक्ने चेतावनीसमेत प्रचण्डले दिएको समाचार स्रोतले जनाएको छ । तर अविश्वासको प्रस्ताव ल्याउने प्रचण्डको चेतावनीलाई भने प्रधानमन्त्री ओलीले धेरै नै असहजताका साथ लिएका छन् ।

करिव ११ दिनको अन्तरालपछि भएको यो भेटघाटमा कार्यकारी अध्यक्ष अध्यक्ष प्रचण्डले सचिवालय बैठकको प्रस्ताव राखे । सचिवालयको बैठक नबोलाइए आफैं बोलाउने चेतावनी पनि प्रचण्डले दिए ।

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग मध्यरातमा करिव ३ घण्टासम्म गरेको गोप्य भेटघाटपछि प्रचण्ड प्रधानमन्त्री ओलीसँग झस्केका हुन् । उक्त भेटघाटमा राजतन्त्र पुनवर्हाली गर्ने सहमतिसमेत भएको प्रचण्डले बताउँन थालेका छन् । आगामी मंसिरभित्र ओलीलाई विस्थापित नगरे मुलुक प्रतिगमनको दिशातिर जाने भन्दै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले अन्य पार्टीका नेताहरुसँग समेत भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीको दुई वर्षे कार्यकाल पुग्दा नपुग्दै गत मंसिरमै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले सरकार परिवर्तनको गृहकार्य थालनी गरेका थिए । पार्टी एकीकरणका बेला भएको संझौतामा सुरुको दुई वर्ष ओली र त्यस पछिको तीन वर्ष प्रचण्ड प्रधानमन्त्री हुने लिखितम गरिएको थियो । त्यो लिखितमलाई कार्यान्वयन गराउन प्रचण्डले त्यतिबेला गरेको प्रयास सफल हुन सकेन । ओली नै पूरा अवधि प्रधानमन्त्री बन्ने र प्रचण्डलाई शक्ति बाँडफाँड गर्ने सहमति भयो । तर त्यो सहमति ओलीले कार्यान्वयन नगरेपछि यतिबेला प्रचण्ड कुनै हालतमा पनि सरकार परिवर्तन गर्ने अभियानमा जुटेका हुन् ।

आफु प्रधानमन्त्रीका रुपमा अघि सर्दा ओलीविरुद्ध बहुमत पु¥याउन नसकिने अवस्था उत्पन्न भएपछि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई अघि सारेका छन् । नेपाललाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दा ओलीविरुद्ध स्वतः बहुमत पुग्ने अंकगणित नेकपाको संसदीय दलमा छ । प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न तत्कालिन एमालेको ठूलो पंक्ति तयार नभएकै कारण ओलीको पद संकटमा परेको थिएन, तर प्रचण्डले भावी प्रधानमन्त्रीका रुपमा माधव नेपाललाई अघि सारेपछि ओली संसदीय दलमा कमजोर भएका छन् ।

समाचार स्रोतका अनुसार गत भदौमा भएको सहमति विपरित प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरेपछि र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने प्रयासमा जुटेपछि प्रचण्ड ओलीसँग मिल्नै नसक्ने गरी विच्केका हुन् । उनले यही कात्तिक ४ गते प्रधानमन्त्री ओलीलाई भेटेरै अब साथ दिन नसक्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री ओलीले पनि जाने बुझेको गर्न चुनौति दिएका थिए ।

यो भेट लगत्तै प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई भेटेर प्रचण्डलाई एक्ल्याउने प्रस्ताव अघि सारे । साथै अन्तिम एक वर्ष प्रधानमन्त्री बनाइ दिने आश्वसन पनि दिए । यो सुँइको पाएपछि प्रचण्डले माधव नेपाललाई भेटेर मंसिरभित्रै प्रधानमन्त्री बनाई दिने बचन दिएका छन् । यो सुँइको पाएपछि प्रधानमन्त्री ओलीले कात्तिक १५ देखि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गराएका छन् ।

प्रधानमन्त्री परिवर्तनका लागि दुई वटा विधि छन् । एउटा विधि पार्टीको आन्तिरिक प्रक्रिया हो । अर्को विधि संसदीय प्रक्रीया हो । संसदमा स्पष्ट बहुमत प्राप्त पार्टी भएकोले नेकपाले संसदीय दलको नेता परिवर्तन गरी ओलीलाई विस्थापित गर्न सक्छ । तर पार्टी अध्यक्ष तथा संसदीय दलको नेता दुवै पद ओलीसँग छ । उनले आफू संकटमा पर्ने गरी संसदीय दलको नेता परिवर्तन प्रक्रिया अघि बढाउन दिने सम्भावना छैन । यो प्रक्रियामा जाँदा ढिलाई हुने अवस्था छ । अर्को प्रक्रिया अर्थात् प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा प्रचण्ड छन् । संविधानको धारा १०० मा प्रधानमन्त्रीलाई प्रतिनिधिसभाको बहुमत ल्याएर हटाउन सकिने प्रावधान छ ।

ओली विरुद्ध प्रचण्ड र माधव नेपालकै गठजोडले प्रतिनिधिसभामा बहुमत पुग्ने अवस्था छैन । यसका लागि नेपाली कांग्रेस र मधेसीदल दुवैले साथ दिनुपर्ने हुन्छ । यसका लागि नेपाली कांग्रेस र मधेसीदल दुवै तयार देखिएका छन् । नेपाली कांग्रेसले यही कात्तिक २१ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र राजीनामा नदिए आन्दोलन थाल्ने निर्णय गर्दैछ । नेपाली कांग्रेस र मधेसी दलले माधव नेपाललाई भावी प्रधानमन्त्री प्रस्ताव गर्दै प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध आविश्वासको प्रस्ताव दर्ता गर्ने गरी प्रचण्डले कुरा अघि बढाएका छन् ।

माधव नेपालले ओली विस्थापित गर्ने एकनि हुना साथ अविश्वासको प्रस्ताव दर्ता हुनेछ । नेकपाका १ सय ७५ सिटमध्ये ५० सिट मात्रै प्रचण्ड र माधव नेपालले फुत्काए भने पनि ओली सरकार ढल्छ, तर उनीहरु कम्तिमा १ सय सिट फुत्काउन सक्ने अवस्थामा छन् । प्रचण्डले तत्कालिन माओवादीका ५३ सिटमध्ये ३५ सिट मात्रै आफूसँग इन्ट्याक्ट राखेका छन्, तर माधव नेपालले भने तत्कालिन एमालेमा आफ्नो पक्षका जति सांसद थिए त्यसमा पनि २०–२५ जना थपेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *