काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आइतबार बिहान शीर्ष पाँच नेताहरू जम्मा भएका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भेला भएका थिए ।
भेलामा अध्यक्ष प्रचण्डले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा भएका कुराबारे ब्रिफिङ गरेका थिए । हिजोको भेटमा प्रचण्डले ओलीसँग अब आफूलाई प्रधानमन्त्री पद छाड्दिन आग्रह गरेका थिए । जवाफमा ओलीले यदि तपाईंलाई प्रधानमन्त्री नै चाहिएको हो भने अब सँगसँगै हिड्न नसकिने जवाफ प्रचण्डलाई दिएको बालुवाटार स्रोतले संकल्प खबरलाई बतायो ।
तर, प्रचण्डले प्रधानमन्त्री पद मागेको कुरालाई ‘स्केप’ गरेर ओलीजी अब सँगसँगै हिड्न नसकिने भनेको कुरा खुमलटारमा भेला भएका नेताहरुलाई सुनाएका थिए । अध्यक्ष प्रचण्डको यो पालिसे कुरा विरुद्ध पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले टुइटरबाटै जवाफ फर्काएका थिए । उनले भनेका थिए– ‘माओवादीसँगको पार्टी एकता संकटमा परेको छ ।’
यी सबै कुरा बुझेका नेकपाका नेताहरुले पार्टी विभाजन हुन नहुने बताएका थिए । खुमलटारमा सहभागी नेताहरुले प्रचण्डको घुर्की बुझेपछि पार्टी एकतामा जोड दिएको भेलामा सहभागी भएका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डले एकता बलियो बनाउन अन्तिमसम्म प्रयास गरिरहेको दाबी गरेका छन् ।




