मुख्य समाचार

राष्ट्रपति कार्यालयको ट्वीटर एकाउण्टमा साइबर हमला

काठमाडौं । राष्ट्रपति कार्यालयको सूचना प्रवाह गर्न सञ्चालनमा ल्याइएको राष्ट्रपतिको कार्यालयको सामाजिक सञ्जाल ट्वीटरको अकाउण्टमा साइबर हमला भएको छ । राष्ट्रपति कार्यालयको ट्वीटर ह्याण्डलमा साइबर हमला भएपछि डिएक्टिभ गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेस विज्ञ टिका ढकालले ट्वीटर ह्याण्डल बन्द गरिएको पुष्टि गरेका छन् । राष्ट्रपति भण्डारीको निजी सचिवालयले सञ्चालन गर्दै आएको सो ह्याण्डल बन्द गरिएको हो । सो ह्याण्डलबाट राष्ट्रपति कार्यालयाबारे सूचना तथा सन्देशहरु प्रवाह गरिँदै आएको थियो ।

ट्वीटरले भरिफाइड गरेको सो अकाउण्ट डिएक्टिभ गरिएको हो । राष्ट्रपति कार्यालयले फेरि ट्वीटर अकाउण्ट सञ्चालन पनि गर्ने जनाएको छ । प्रेस विज्ञ ढकालले अर्को स्वरुपमा अकाउण्ट सञ्चालन छिटै गरिने जानकारी दिए ।

उनले भेरिफाइड भएको दुईदिनमात्र भएको सो अकाउण्टमा साइबर आक्रमण भएकाले बन्द गरिएको बताए । ‘भेरिफाइड भएको दुई दिनमात्र भएको थियो। साइबर आक्रमण भयो। त्यसका कारण हाललाई सो अकाउण्ट स्थगन गरिएको छ, सोही अकाउण्टलाई रिकभर गर्ने की के गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ,’ ढकालले भने । उनका अनुसार सो अकाउण्टमा अनाधिकृत स्थानबाट एक्सेस गरिएको थियो। तर, कसले कहाँबाट के गर्यो भन्नेबारे भने केही खुलाएनन ।

उनले ट्वीटर अकाउण्ट सञ्चालनबारे सरकारका सूचना प्रविधि अधिकारीहरुसँग छलफल गरेकोसमेत जानकारी दिए । उनले राष्ट्रपति विद्याादेवी भण्डारीको व्यक्तिगत अकाउण्टसमेत अब फेरिफाइड हुने प्रक्रियामा रहेको जानकारी दिए । स्मरण रहोस राष्ट्रपति भण्डारीको अकाउण्टमा गरिएका ट्वीटमाथि अश्लिल कमेन्टहरु आएपछि कमेन्ट नै गर्न नमिल्ने बनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *