काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई आग्रह गरेका छन् । उनले बिहीबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले भने, ‘कोभिड–१९ को संक्रमणका कारण धेरै नेपाली दाजुभाइ–दिदिबहिनीको मृत्यु भएको छ । म ज्यान गुमाउनु हुने सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । सक्रिय संक्रमितको शीघ्र स्वास्थलाभको कामना गर्दछु ।’
‘प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेका छन् । देशमा सर्वत्र त्रास छ । यस्तो विषम अवस्थामा जनताको अभिभावकका रुपमा उभिनुपर्ने सरकारले झन् पीडा थप्ने काम गरेको छ । नेपाल सरकारले कोभिड–१९ को परिक्षण र संक्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने भनी गरेको निर्णय निन्दनीय र लज्जास्पद छ, सभापति देउवाले भनेका छन्, ‘यस निर्णयले सरकार जनताप्रति सम्वेदनहीन, गैरजिम्मेवार, अनुत्तरदायी र कर्तव्य बिमुख छ भन्ने देखिएको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, आकस्मीक स्वास्थ सेवावाट बंन्चित नगरिने, प्रत्येकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने, सबै नागरिक कानूनको दृष्टिमा समान हुने, सामान्य कानूनको प्रयोगमा भेदभाव नगरिने र सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ । आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक हो । सरकारले कुनै शर्त बिना यसको कार्यान्वयन गर्नु पर्छ । सरकारले जनताको हित विरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरित निर्णय गरि घोर अलोकतान्त्रिक चरित्रको प्रर्दशन र सर्बोच्च अदालतको पनि अपहेलना गरेको छ । यस्तो स्थिति आउन नदिन म प्रधानमन्त्रीजीलाई सजग गराउन चाहन्छु ।’
‘कोभिड–१९ नियन्त्रणको सन्दर्भमा सरकार प्रारम्भ देखिनै गैर जिम्मेवार रह्यो । समयमा आवश्यक सामग्रीको आपूर्ति नगर्नु, परिक्षण, क्वारेन्टाईन, आईसोलेसन सेन्टर, प्रयोगशाला, अस्पतालको व्यवस्थापन र विदेशमा रहेका नेपालीलाई ईज्जतपूर्वक सुरक्षित घर फिर्तीमा उदासीन रहनु, व्यापक भ्रष्टाचार गर्नु सरकारको कुशासन, बेथिति र असफलताका उदाहरण हुन् । हामीले समयमा दिएका सुझावलाई पनि सरकारले वास्ता गरेन । महामारीको भयावह अवस्था सृजना हुनुमा नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकार जिम्मेवार छ, सभापति देउवाले वक्तव्यमार्फत् भनेका छन्, ‘देशमा कालाबजारी, महंगाई, मिसावट, कृतिम अभाव, भ्रष्टाचार र बेथिति उग्र रुपले प्रकट भएको छ । आर्थिक पारदर्शीता, अनुशासन र मितव्ययिता छैन । अनावश्यक काममा सरकारी ढुकुटी खर्च भएको छ । तर नागरिकको स्वास्थ्य बारे सरकार असंवेदनशील बनेको छ ।’
‘म नेपाल सरकार र मा. प्रधानमन्त्रीलाई कोभिड—१९ को परिक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्ने भनी सरकारले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गरि नेपाली नागरिकको स्वास्थ्य परिक्षण देखि संक्रमितको उपचारसम्मका सबै काम निसर्त, भेदभाव बिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गर्दछु । साथै यस विषम परिस्थितिमा जनताको जिवन नै कष्टकर भएको यथार्थ तर्फ सम्वेदनशील भई जनताको हितमा काम गर्न आग्रह गर्दछु, वक्तव्यमा भनिएको छ




