काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले बालुवाटार नटेक्ने प्रण गरेका छन् । कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्माले छलफलका लागि बालुवाटार बोलाएका थिए । तर, प्रधानमन्त्रीको उक्त निम्तो नेता शर्माले ठाडै अस्वीकार गरेका थिए ।
शर्मा निकट स्रोतका अनुसार कर्णालीमा आफूविरुद्ध सहइन्चार्ज यामलाल कंडेललाई प्रधानमन्त्री ओलीले उचालेको भन्दै असन्तुष्टि जनाएरका छन् । नेकपा कर्णालीका इन्चार्जसमेत रहेका शर्माले स्वास्थ्यमा समस्या भएकाले आउन नसक्ने जवाफ दिएका थिए ।
नेता शर्माले दुई दिनसम्म समय नदिएको र संकटमा परेका समयमा साथ दिए पनि ओलीले आफूविरुद्ध कंडेललाई परिचालन गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
यसअघि आज कर्णालीका विषयमा सामूहिक छलफलका लागि बोलाउँदा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बालुवाटार जान अस्वीकार गरेका थिए ।
यसैबीच प्रधानमन्त्री ओलीले कर्णालीका सबै नेताहरुसँग सामूहिक छलफल गरेर पार्टी अध्यक्षद्वयले निकाल्ने निष्कर्ष पालना गर्न निर्देशन दिएका छन् । ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग बसेर विवादको निष्कर्षमा पुग्ने जानकारी गराएका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, अध्यक्ष गोरखबहादुर बोगटी, सहइन्चार्ज यामलाल कंडेल, प्रकाश ज्वाला, सचिव मायाप्रसाद शर्मा, निलम्वित प्रमुख सचेतक गुलाबजंग शाही र नेता चन्द्रबहादुर शाहीलगायतका नेताहरु सहभागी थिए ।




