काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनयन गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई नसकिएपछि आज शुक्रबार सुनुवाई हुदैछ । हेर्दाहेर्दैमा राखिएको मुद्धालाई आज निरन्तरता दिन लागिएको हो ।
सर्वोच्चको संवैधानिक इजलासमा बुधबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अर्का अधिवक्ता बद्रीराज भट्टले दायर गरेको छुट्टा छुट्टै रिटमाथि बुधबार सुनुवाई भएको थियो तर दुवै पक्षका कानुन व्यवशायीहरुको बहस जारी रहेकाले आज सुनवाई हुन लागेको हो । दुबैजना अधिवक्ताहरुले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नु संविधानको मर्मविपरित भएको भन्दै सो मनोनयन खारेज गर्न माग गरेका थिए ।
सो रिटमाथि यसअघि सर्वोच्चले अन्तरकालिन अन्तरिम आदेश दिँदै गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन भनेको थियो । बुधबार प्रधानन्यायधीश चोलेन्द्र शम्शेर ज।ब।रा। र न्यायधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाई भएको हो।
बुधबार निवेदनका तर्फबाट बहस सकिएको तर, विपक्षीकातर्फबाट बहस नसकिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए। बुधबार विपक्षी (राष्ट्रिपतिको कार्यालय)का तर्फबाट महान्यायधीवक्ता अग्नि खरेल र सहमहान्यायधीवक्ताले बहस गरेको जनाइएको छ ।




