ताजा समाचार

नेपाली चलचित्र रिलिज नहुँदा करोडौको नोक्सानी

कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले गरेको लकडाउन अन्त्य भएपनि फिल्म तथा मनोरञ्जनसम्बन्धी गतिविधि पुनःसुचारु हुन सकेनन । फिल्मसम्बन्धी गतिविधि पुनःसुचारु नहुँदा यस क्षेत्रमा आवद्ध श्रमजीवी मजदुरदेखि कलाकार, फिल्मकर्मी र हल सञ्चालकहरू मारमा परे । केही दिनदेखि राजधानी लगायत देशभर संक्रमण बढ्दै गएपछि गृहमन्त्रनलयले जात्रा, महोत्सव गर्न समेत रोक लगाएको छ । यसले गर्दा फिल्म क्षेत्र नराम्रोसँग प्रभावित भएको छ ।
लाइटम्यान दिनेश लामा विगत ३१ वर्षदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय भएर फिल्मको लाइट व्यवस्थापन गरिरहेका छन् । सरकारले कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि लकडाउन घोषणा गरिरहँदा उनी आदिवासी फिल्म ‘मरंग’ को सुटिङमा व्यस्त थिए । लकडाउनसँग फिल्मसम्बन्धी गतिविधि ठप्प भएपछि दैनिक दुई हजारदेखि २५ सय रुपैयाँसम्म कमाउने उनी बेरोजगार भएका छन् । ‘दैनिक कमाई गरेर परिवार पाल्नुपर्ने बाध्यता भएका मजस्ता ज्यालादारी प्राविधिकहरू भोकभोकै मर्नुपर्ने स्थिति आएको छ,’ उनले भने, ‘अहिलेको स्थितिमा राहत पाउनु भाग्यको कुरा भएको छ ।
फिल्मसम्बन्धी गतिविधि सुचारु नभएसँग दैनिकी कष्टकर भएको छ ।’  त्रिशुली घर भई राजधानीको वनस्थलीस्थित ढुंगेधारा क्षेत्रमा बसोबास गर्ने उनलाई पाँच जनाको परिवार पाल्न धौधौ परेको बताउँछन् । ‘यसअघि जनयुद्ध र विभिन्न आन्दोलनले गर्दा फिल्म क्षेत्र धरासयी भएपनि आम्दानी प्रभावित भएको थिएन,’ उनले स्मरण गरे, ‘अहिले ऋण दिने फिल्मकर्मीहरूको समेत अवस्था नाजुक हुँदै गएको छ । सावधानी अपनाएर फिल्मसम्बन्धी गतिविधि तत्काल पुनःसुचारु नभए भोक भोकै मर्नुको विकल्प छैन् ।’ उनीजस्तै नेपाली फिल्म क्षेत्रबाट ३५ सय हाराहारीका प्राविधिकहरूको रोजीरोटी चलिरहेको छ ।
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार संघमा स्पट ब्वाई, लाइटम्यान, मेकअपम्यान, ड्रेसम्यान र क्ल्याप ब्वाईजस्ता गरी १५ सय सदस्य छन् । यसमध्ये दैनिक स्पट ब्वाई १५ सय, लाइटम्यान २५ सय, ड्रेसम्यान तीन हजार र मेकअपम्यान पाँचहजारसम्म आम्दानी गर्ने गर्छन् । जसमध्ये पाँच सयको अवस्था नाजुक हुँदै गएको छ । संघले प्राविधिकलाई राहत सामग्री वितरण गरिरहेपनि प्रयाप्त नभएको जानकारी अध्यक्ष लामाले गराए । ‘अहिलेको स्थितिमा प्राविधिकलाई राहत सामग्री वितरण गरिरहेपनि पयाप्त पुगेको छैन,’ उनले भने, ‘हामीले चलचित्र विकास बोर्डमार्फत प्राविधिकलाई राहतको निम्ति पहल गरिरहेका छौं ।’ अर्जुन कुमारले ‘चपली हाईट ३’ फिल्मको सुटिङ एक करोडभन्दा बढी रुपैयाँ खर्चिए ।
जेठ २८ मा फिल्म रिलिज गर्न उनले ट्रेलर र गीत सार्वजिक गरेको केही दिनमा सरकारले लकडाउन घोषणा गरेसँग उनको खर्च बढेको छ । कहिले फिल्म क्षेत्र पुनःसुचारु हुन्छ भन्ने टुंगो छैन । रिलिज अनिश्चत हुँदै जाँदा ब्याज थपिएको छ । ‘प्रचारप्रसारसहित डेढ करोड रुपैयाँमा फिल्मको काम सिध्याउने योजना अनुसार काम भइरहँदा लकडाउनले सबै प्रभावित भएको छ,’ उनले भने, ‘अहिलेसम्म एक करोड १५ लाख रुपैयाँ खर्च भइसक्यो । दशैंतिहारमा फिल्म रिलिज गर्न पाइएला भन्नेमा आशावादी छु ।
यो स्थितिमा ओभरसिज राइटको माया मारिसकेको छु ।’ नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्सले देशभरको १२ हलमा आवद्ध सात सय हाराहारीका कर्मचारीहरूलाई आधा तलब दिइरहेको छ । देशभर २७ पर्दा रहेको क्युएफएक्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन अडिगाका अनुसार प्रत्येक हलमा दैनिक पाँच लाख रुपैयाँ आम्दानी हुने गरेको थियो । ‘अधिकांश गतिविधि ठप्प भइरहेको अवस्थामा भाडा तिर्न बाध्य छौं र कर्मचारीलाई आधा तलब दिइरहेका छौं,’ उनले भने, ‘अहिलेको स्थितिमा व्यापार खासै नहुने भएपनि सरकारको निर्देशिकाको पालना गरेर हल पुनः सुचारु गर्न तयार छौं ।’
चलचित्र विकास बोर्डले लकडाउन गरिएपछि नेपाली फिल्म क्षेत्रमा १२ हजारभन्दा बढी श्रमजीवी फिल्मकर्मीहरू प्रभावित हुने तत्थांक सार्वजनिक गरेको छ । बोर्डले आर्थिक वर्ष २०७६-७७ मा ८६ वटा फिल्मलाई निर्माणको इजाजत पत्र प्रदान गरेको थियो । जसमध्ये ६६ वटा फिल्मको सेन्सर सिफारिश भएको थियो । २०७६-७७ को चैत पहिलो सातासम्म नेपाली र विदेशी गरेर एक सय ३९ वटा फिल्म प्रदर्शन भएका थिए । रिलिज मिति तय भएर कोरोना भाइरस महामारीका कारण प्रदर्शन स्थगित हुँदा १५ करोड रुपैयाँ क्षति भएको अनुमान बोर्डले गरेको थियो ।
बोर्डले आर्थिक वर्ष २०७५-७६ मा एक सय ६७ वटा फिल्मलाई निर्माणको लागि इजाजत पत्र प्रदान गरेको थियो । बोर्डले आर्थिक वर्ष २०७४-७५ मा एक सय ९३ फिल्मले निर्माणको लागि इजाजत प्रदान गरेको थियो । त्यस्तै एक सय २६ फिल्मको सेन्सर सिफारिश भएकोमा करिब ८५ वटा फिल्म प्रदर्शन भएका थिए । इजाजत लिँदा एक अर्ब १८ करोड ४७ लाख रुपैयाँ अनुमानित लागतको विवरण पेश भएको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोना भाइरस महामारीबाट प्रभावित रहेको नेपाली फिल्म क्षेत्रलाई सम्बोधन गर्न समिति बनाएका जानकारी गराए । ‘कोरोना भाइरस महामारीबाट प्रभावित नेपाली फिल्मलाई सम्बोधन गर्न विगत १५ दिनेदेखि बोर्डले फिल्मकर्मीहरूसँग छलफल गरिरहेको छ,’ उनले भने, ‘अहिले बोर्डको आन्तरिक स्रोत खुम्चिएपनि मन्त्रालयसँग पत्राचार गरिसकेको छु ।
श्रमजीवी फिल्मकर्मीदेखि निर्माण, प्रदर्शन र निर्मातालगायतलाई राहतको लागि पहल गरिरहेका छौं ।’ उनले श्रमजीवी फिल्मकर्मीको जीवनस्तर सुधार्न प्याकेज घोषणा समेत गरिने बताए । ‘फिल्म निर्माणमा सहयोग गर्न जुटेका छौं । तत्काल फिल्म हल पुनः सुचारु नभएपनि निर्देशिका तयार गरिरहेका छौं । मौलिक र कलात्मक फिल्म निर्माणमा प्रोत्साहन गर्न स्क्रिप्टमा आर्थिक अनुदान दिने कुरालाई लिएर मन्त्रालय छलफल गरिरहेका छौं । श्रमजीवी फिल्मकर्मीको पेन्सनको योजनाको कुरामा जोडदारसँग लागेका छौं । यो नभएसम्म राहतमात्र दिएर पुग्दैन । दीर्घकालिन रुपमा फिल्म क्षेत्रको विकासको लागि परेको छु ।’
नेपालमा फिल्म प्रदर्शनको लागि देशभर एक सय १५ वटा फिल्म हलहरूमा ७० हजार हाराहारीको सिट संख्या रहेको छ । विदेशी फिल्मको प्रदर्शनबाट वार्षिक १० करोड चलचित्र विकास शुल्क र यत्ति नै मात्रामा राजश्व उठ्ने गरेको छ । मासिक विदेशी फिल्मबाट ९० लाख रुपैयाँ र नेपाली फिल्मको प्रदर्शनबाट न्यूनतम पाँच करोड रुपैयाँको व्यापार हुने गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *