यो इतिहास हो कि नियति हो मैले फरक पत्ता लगाउनै सकिन । पटक पटक इतिहास दोहोरिन्छ भन्ने लोकाक्ति मात्र सुनेको थिए । अहिले भने इतिहास दोहोरिएको अनुभव गरिरहेकोछु । एक प्रजातान्त्रिक योद्धा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको राजनीतिक लोकप्रियताले पञ्चायतदेखि कम्युनिष्टसम्मलाई टाउको दुखाइको विषय बन्यो । गच्छदारको राजनीतिक तेजसंग पञ्चायत, ज्ञानेन्द्र र कम्युनिष्टहरुलाई सदैव त्रशित बनायो ।
कुरा २०३८ मंसिर पुष तिरको हो । वर्तमान पार्टी उपसभापति बिजय गच्छदा महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघको नेता थिए।अखिलको सदस्यसमेत रहेका एक सरकारी कर्मचारी फणिन्द्र तिम्सिनाको हत्यामा संलग्न भएको आरोपमा बिजय गच्छदारलाई पक्राउ गरी पुलिसको निगरानीमा अज्ञात स्थानमा राखिएको थियो । आफ्नो पार्टीका बिद्यार्थी कार्यकर्ता गैरकानूनी रुपले पक्राउ पर्दा नेपाली कांग्रेसको सरोकारको बिषय हुने नै भयो । र, हुनु स्वभाबिक पनि हो । पञ्चायत कालमा यस्तो कुरा सामान्य हुन्थ्यो । पञ्चायतकालमा पक्राउ गरेर हत्या गर्ने र बेपत्ता पार्ने सरकारी रणनीति जस्तै थियो ।गच्छदारको हकमा पनि नेपाली कांग्रेसलाई यहीं कुराको डर थियो । त्यसबेला यस्ता बिषयमा पार्टीको काम शैलजा आचार्यले हेर्नु हुदोरहेछ । बिजयको अवस्था थाहा पाउन आवश्यक भएर २०३८ साल पौष ९ गते शैलजा दिदीले एक लम्साल थरका आफ्नो कार्यकर्तालाई बन्दीप्रत्यक्षीकरणको रिट निबेदन अञ्चल अदालत धरानमा दर्ता गराउन पठाउनु भएको रहेछ । रिट निबेदन दर्ता गराउन आउँनेले अरुको वकिलसंग सम्पर्क राख्नु भयो थाहा भएन,अरुले यो मुद्दामा बहस नगर्ने भएपछी केही ढिलो गरी मलाई बहस गरी दिन भन्नुभयो । म बडो संकटमा परें । मैले मेरी सुत्केरी श्रीमती (रमा पौड्याल हाल केन्द्रीय आमन्त्रित सदस्य नेपाली काँग्रेस)सोही दिन कोशी अञ्चल अस्पतालबाट एक बजे डिस्चार्ज हुने भएकाले जानु पर्ने थियो । यो कुरा उंहाँलाई बताए । तर,अरु बिकल्प उहाँसंग पनि थिएन।मैले पनि त्यो अवस्थामा तुरुन्त सोचेँ यो मुद्दामा मैले बहस गर्नु पर्छ । र,वकालतनामामा सहि गरेँ । त्यसबेलाको अञ्अलाधीश बिजयलाई फसाउने र कम्यूनिष्टलाई जोगाउने षडयन्त्रमा लागेकोले यो मुद्दामा बहस गर्नु खतरा छ भन्ने कुरा मेरा शुभचिन्तकहरुले पनि सुनाएका पनि थिए । तर, यति हुंदाहुदै पनि मैले बहस गर्नै पर्ने थियो। निर्भिकतापूर्वक बहस गरेँ । बहसपछि मुद्दामा सोकज गराउन सफल भएँ ।
ढिलो गरी जब म बिराटनगरमा अस्पताल पुगें थाहा भयो पहिलेनै श्रीमतीलाई डिस्चार्ज गरिसकेको रहेछ । त्यसपछि उनै लम्सालले शैलजा दीदीले भेट््न खोज्नु भएको कुरा मलाई सुनाउन भयो।कोशी अञ्चल अस्पताल अगाडी भएको शैलजा दिदीको घरमा गएँ । मुद्दाको सबै यथार्थ कुरा बताएंँ । लम्सालले अदालतमा आफूले भोग्नु परेको अबस्था पनि पहिलेनै सुनाइ सकेका रहेछन ।
केही दिनपछि बिजयलाई कोशी अञ्चल अस्पतालमा राखिएको भन्ने लिखित जवाफ परे पछि थाहा भयो मारिएको रहेनछ भनेर । तर बिजयको एउटा आँखा फोरिएको अबस्थामा ज्यान मुद्दा लगाउने तयारी रहेको पनि थाहा भयो । बिजयलाई ज्यान मुद्दा लगाउने तर, बिजयको आँखा फुटाउने को हो भन्नेसम्म पनि खोजी गरिएन । यसबेला तत्कालीन नेकपा (माले)लाई फाइदा हुने र नेपाली काङ्गरेसलाई पेल्ने नीति अनुसार यो ज्यान मुद्दामा अञ्चलाधीश आंफै बिजयको बिरोधमा लागेकोले मलाई बहस नगर्न सल्लाह दिएको रहेछ भन्ने पछि थाहा भयो ।
पञ्चायत कालमा राजनीतिक कार्यकर्तालाई ज्यान मुद्दा लगाउन अञ्चलाधीश आफै भिड्थे भन्ने यो एउटा उदाहरण मात्रै हो । राजाको निरङ्कुश शासन कालमा बिजय गच्छदारले दुर्भाग्यपूर्ण नियति भोग्नु परेको थियो ।
नेपालमा लोकतन्त्र स्थापना भएपछी पनि राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछी फेरी बिजयलाई मुद्दा लगाउने प्रयास नभएको होइन । त्योपनि सफल भएन । तानाशाही राजतन्त्रले कम्युनिष्ट पार्टीलाई मद्दत गर्यो, बिजयलाई मुद्दा लगायो तर, सफल भने भएन । संबैधानिक राजतन्त्र भएको अवस्थामा मुद्दा लगाउने प्रयास त गर्यो उ पनि सफल हुन सकेन ।
यसपटक कम्युनिष्ट सरकारले मन्त्रीपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्रीलाई मुद्दा नचलाउने तर सोही निर्णयमा सहभागी बिजयलाई मुद्दा चलाइएको छ । अहिले बिजयलाई मुद्दा लगाउने तत्कालीन नेकपा(माले) को बिस्तारितरूप नेकपा सरकारमा छ । अभियुक्त त्यही नेबिसंका नेता बिजय गच्छदार हाल नेपाली कांग्रेसका नेता उप सभापति त्यहीं बिजय गच्छदार । यो कस्तो संयोग ! पञ्चायती तानासाही र यो एक्काइसौ सताब्दीको लोकताल्त्रिक गणतान्त्रिक मुलुक नेपालको कम्युनिष्ट सरकारमा समानता वा असमानता छुट्ट्याउनै नसकिने भयो । पञ्चायत तानाशाही र बर्तमान कम्यूनिष्ट सरकारमा फरकनै के भयो र ?
ताजा समाचार




