औद्योगिक विकासको चरम सीमामा विश्व पुगेको छ । औद्योगिक विकासले उत्पादन र उत्पादकत्वमा व्यापक वृद्धि भएर बजारको खोजीमा औद्योगिक राष्ट्रहरु निस्किएका छन् । उत्पादनमा भएको वढोत्तरी र प्रतिस्पर्धाले विश्वलार्ई नै प्रतिस्पर्धी वजारमा रुपान्तरण गर्दै गएको छ । तिव्र विकासले मानव जीवनलाई सुखी बनाएको मात्र छैन् । प्रकृतिको असह्य दोहनले जीवनमा नै प्रतिकूलता देखिन थालेको छ । जलवायु परिवर्तन र वातावरण विनासले अकल्पनीय जोखिमहरुको सामना गर्नु पर्ने परिस्थिति देखिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा प्राप्त सफलताले मानिसहरुलाई एक आपसमा आवद्ध गर्दै गईरहेको छ । यसले संसार नै साँघुरो घर जस्तो भान हुन थालेको छ । विज्ञान, प्रविधि, सूचना, सञ्चार, सम्पदाहरुको खोज, अध्ययन, अनुसन्धान र अन्वेषणमा वौद्धिक तथा प्राविधिक साझेदारीलाई ठोस आकार प्रदान गरेको छ । पूँजीको स्वतन्त्र प्रवाहमा अन्तर्राष्ट्रिय व्यवस्थाले अनुकुलता सिर्जना भएको छ । यसले पूँजी, प्रविधि र ज्ञान उद्योगको उत्पादनमा सहकार्यको आवश्यकता वृद्धि भएको छ । यसो भएकोले राज्यस्तर र जनस्तरमा साझेदारी एवं सहकार्यको भावना विकास हुँदै जान संभव भएको हो । यस अर्थमा समकालिन अन्तर्राष्ट्रिय सम्बन्ध विविधताभित्र एकता र विलयको युग बन्न पुगेको छ । भाषा, सँस्कृति, कला, साहित्य, संगीत, रहनसहनहरु एक आपसमा क्रिया र अन्तर्क्रिया भएर नयाँ र भिन्न रुपमा विकास हुँदै गईरहेको छ । विचारहरु अन्तर्राष्ट्रिय रुपमा प्रवाहित र प्रभावित वन्न पुगेका छन् । सीमाहिन सुखको खोजीमा सिंगो मानव जाती नै क्रियाशिल भईरहेको छ ।
सूचना प्रविधिमा भएको द्रुत विकास र प्रगतिले मानिसहरुलाई आफ्नो विचार र विवेकको अन्तर्राष्ट्रिय प्रसार, वहस र छलफलबाट नविन विचारहरु निर्माणमा सहयोग पुगेको छ । वौद्धिक सम्पत्ती विश्वको साझा सम्पत्ती बन्न पुगेको छ । विज्ञान र प्रविधिको क्षेत्रमा भएका चमत्कारिक सफलताबाट साना तथा प्रविधिको विकासमा पछि परेका राष्ट्रहरु तथा क्षेत्रका जनताले पनि समान अवसरहरु लिन सक्ने वातावरण देखा परेको छ । सूचना र प्रविधिको नयाँ नयाँ आविष्कारले कृतिम संसार खडा भएको छ । मानिसहरु एक्लै रमाउन सक्ने र घण्टौ एकांकी वस्न सक्ने, त्यसबाट ज्ञान, विज्ञान तथा सीपहरु सिक्न सक्ने प्रशस्त अवसरहरु सिर्जना भएको छ । यो प्रविधिको उच्च विकासले संभव भएको हो । यसबाट पछाडी परेको समाजले समेत लाभ लिन सक्ने स्थिति बन्दै गएको छ । त्यस कारण आजको विश्व सूचना र प्रविधि क्रान्तिको तिव्रतर विकास र विस्तारको दुनियाँ हो भन्न सकिन्छ ।
प्रविधिमा आएको नयाँपन, सूचना सञ्जालीकरण, यातायातको सहज पहुँच र विस्तार, अर्थतन्त्रमा अन्तरर्निभरता, सचेतना वृद्धि र पारस्पारिक लाभको अन्तर्राष्ट्रिय मान्यताहरुको विकासले विचारधारात्मक मतभेदलाई थाती राखेर विचारको स्वच्छ ग्रहण गर्ने परिस्थितिमा विश्व पुगेको छ । यसको मतलव यो होईन कि विचारधाराको विवाद समाप्त भएर एउटै विचारधाराबाट विश्व निर्देशित होस । शासन प्रणाली, उत्पादन प्रणाली, राष्ट्रिय सुरक्षा र हितका यावत विषयहरु हुँदा हुँदै पनि विश्व विकास र विज्ञानको प्रगतिलाई अझ माथि उठाउने कुरामा कसैको पनि विमति छैन् । यस अर्थमा क्ष्मभययिनथ ख्क। क्ष्मभब क्जबचष्लन भन्न सकिन्छ । वौद्धिक विचारहरु, वैज्ञानिक खोजहरु र अनुसन्धानमा विश्व सहकार्यको अवस्थाबाट गुज्रीएको छ । यसलाई वर्तमान विश्वको सकरात्मक उपलब्धीको रुपमा लिन सकिन्छ । यसका साथै प्रकृतिको तिव्र दोहनबाट वातावरण विनास हुन गईरहेको छ । वाातावरणको संरक्षणमा सिंगो विश्वको सहकार्य र साझा प्रयास अनिवार्य भएको छ । प्रकृतिमाथिको अतिक्रमणलाई नरोक्ने हो भने पृथ्वी जीवको अस्तित्वका लागि अनुकुल रहिरहन कठिन हुने छ । यो साझा समस्याको समाधानमा सामुहिक प्रयासको खोजी भईरहेको छ ।
विश्वलाई सफ्टवेयर प्रविधिको विकासले नजिक तुल्याएको छ । मानवीय मनहरुलाई एक आसपमा जोडेको छ । घटना, परिघटनाहरु एउटा सानो कोठामा वसेर थाहा पाउने, तिनको विश्लेषण र सश्लेषण गर्ने, संवेदना प्रकट गर्ने र भावि दिनका नयाँ योजनाहरु कोर्नेर् परिस्थिति विस्तारै बन्दै गएको मात्र छैन् । यसले आधार तहको सोचाई, मूल्य, मान्यता र विचारहरुमा परिस्कृत गर्दै गईरहेको छ । अब कुनै समाज वा व्यक्ति विश्वव्यापी सञ्चार, सञ्जाल र सम्पर्कबाट अलगथलग बस्न सक्ने अवस्था रहेन । भूराजनीतिक चासोहरु क्रमशः खेल, मनोरञ्जन र अर्थतन्त्रको क्षेत्रतर्फ सरेको छ । त्यसैले अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्य राज्यस्तरको सम्बन्धमा कैद गर्न सकिने अवस्था रहेन । विश्वका विभिन्न भूभागमा बसोबास गर्ने मानिसहरुको सम्बन्ध विश्वभरमा विस्तारित भएर जनस्तरको गहिरो सम्बन्ध स्थापना भएको छ ।
परम्परागत अन्तर्राष्ट्रिय सम्बन्ध राष्ट्रहरुबीचको राजनीतिमा सिमित थियो । यसले युद्ध र कुटनीति सञ्चालनमा सरोकार राख्दथ्यो । त्यस वेलाको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्ध भूराजनीतिमा आधारित थियो । सोभियत समाजवादको विघटनपछि शीतयुद्धको पनि औपचारिक अन्त्य भयो । शीतयुद्धको उत्तरार्धबाट विश्वमा विज्ञान र प्रविधिको क्षेत्रमा व्यापक सफलता मिल्यो । विश्वमा सूचना क्रान्तिको त बहार नै चल्यो र यो अहिलेसम्म निरन्तर जारी छ । त्यसैले हरेक दिन प्रविधिको अवसान भईरहेको हुन्छत्भअजलययिनथ मष्भ भखभचथमबथ भनिन्छ । सूचना र प्रविधिको क्षेत्रमा भएको उल्लेख्य प्रगतिले विश्वमा असाधरण उपलब्धीहरु देखा परेका छन् । परिणाम अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यका क्षेत्रहरु समेत विस्तारित र विकसित भएर वातावरण, विज्ञान–प्रविधि, प्राकृतिक स्रोत–साधनको परिचालन र प्राप्तिसम्म समेटिन पुगेको छ । राष्ट्रहरुबीचको प्रतिस्पर्धात्मक र सहयोगात्मक व्यवहारका विविध आयामहरुमा परिवर्तन आएको छ । ति विषयहरुको अध्ययन, अनुसन्धान र वस्तुनिष्ठ विश्लेषणमा नयाँ दृष्टिकोणहरु देखा परेका छन् । यातायात र सूचना सञ्जालको विकाससंगै विश्वव्यवस्थाको mक्रिया–अन्तर्त्रिया र अन्तरसम्बन्ध पुरानै विधि र पद्धतिबाट मात्र अध्ययन गर्न असम्भव प्रायः भएको छ । समकालिन विश्वमा राजनीति, अर्थतन्त्र र सँस्कृतिका क्षेत्रमा तिव्र परिवर्तन र संक्रमण देखा परिरहेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिमा विज्ञान र प्रविधिको कुटनीति स्थापित भएको छ ।
विश्वका विभिन्न देशहरुका बीचमा पुराना सम्बन्धहरु नविकरण हुने, टुट्ने र नयाँ सम्बन्धहरु स्थापित हुने क्रम निरन्तर जारी छ । मानव जातिको हित र अग्रगतिका साधक तत्वहरुको मात्र विकास भएको छैन् । आधुनिक परमाणु हातहतियारको होडवाजी, शक्तिको होड, अर्थतन्त्रमा प्रभुत्वको खिचातानी र तिव्र प्रतिस्पर्धा अन्तर्राष्ट्रिय सम्बन्धका चुनौतीका रुपमा खडा छन् । हतियारको निर्माण र भण्डारण मानव सभ्यता र सुरक्षित धर्तीका लागि नै चुनौतीपूर्ण खतरा रहेको समकालिन विश्वको यथार्थ हो । आजको अन्तर्राष्ट्रिय सम्बन्धका चुनौतीहरुलाई न्यूनिकरण गर्न वेभ र सफ्टवेयर प्रविधिको विकासले महत्वपूर्ण भूमिका खेल्न थालेको छ । साईवरनेटिक दुनियाँ र सामाजिक सञ्जालको विश्वव्यापी प्रभावले राष्ट्र–राष्ट्रवीचको सम्बन्धलाई जनस्तरसम्म पहिचान गराउन सहयोग पुगेको छ । जनस्तरको सम्बन्धले मानवता, भातृत्व, आपसी सहयोग र सहयात्राको थालनी भएको छ । त्यसका साथै अन्तर्राष्ट्रिय व्यवस्थामा घातक तथा मानव जातीको हितलाई प्रतिकूल असर पार्ने चुनौतीहरु पनि प्रविधिको सहउत्पादनको रुपमा देखा परेको छ । सीमा पार अपराध, लागू औषधको कारोवार, हतियारको ओसार पसार, ठगि जस्ता घटनाहरु पनि देखिएका छन् । समग्रमा प्रविधिको विकासका नकरात्मकताभन्दा सकरात्मक पाटो बढी रहेको छ । राष्ट्रहरुबीचको तनावलाई न्यूनिकरण गर्न वा समाधानका लागि वलियो अन्तर्राष्ट्रिय लविङ्गको ढोका खुल्ला भएको छ । यो आफैंमा खुशी र गौरवको विषय हो ।
विश्वलाई प्रविधिको क्षेत्रमा भएको द्रुत विकास र सफलताले रोमाञ्चित बनाएको छ । विश्वभरका मानिसहरु एउटै कोठामा आमनेसामने वसेर गफ गरिरहेको जस्तो महसुस गरिरहेका छन् । विचारहरु, भावनाहरु, धारणाहरु एक आपसमा साटासाट गरिरहेका छन् । विचार निर्माणको नयाँ प्रणालीहरु पहिल्याई रहेका छन् । यो विज्ञान र प्रविधिमा भएको प्रगतिले सम्भव भएको हो । त्यसैले विज्ञान र प्रविधि तथा अन्तर्राष्ट्रिय सम्बन्धले एक अर्कामा प्रभाव पारिरहेका छन् । प्रविधि विनाको अन्तर्राष्ट्रिय सम्बन्धको परिकल्पना समेत असम्भव हुँदै गएको छ । अर्कोतिर प्रविधिको विकासलाई संसारभर विस्तार गर्ने माध्यम अन्तर्राष्ट्रिय सम्बन्ध बनेको छ । खास गरेर सूचना प्रविधिले अन्तर्राष्ट्रिय घटनाक्रमहरु, अन्तर्राष्ट्रिय कुटनीति, राजनीति, अर्थतन्त्र र व्यापार व्यवसायलाई जोडेको मात्र छैन् । सम्बन्धमा नविनतम मार्गहरु खुल्ला गरिदिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ सिद्धान्तहरु निर्माण र कार्यान्वयनमा मद्दत पुगेको छ । कुटनीति, राजनीतिका अलवा उद्योग, व्यापार, वाणिज्य, वित्त विकासमा सूचना प्रविधिले माध्यमको कार्य गरेको छ । त्यसै गरी शासन, प्रशासन र वौद्धिक सम्पत्तीको विश्वव्यापी उपयोगमा समेत साधक बनेको छ । एक किसिमले भन्ने हो भने सूचना प्रविधि विनाको अन्तर्राष्ट्रिय सम्बन्ध त के मानव व्यवहार नै तहस नहस हुने परिस्थिति बन्दै गएको छ । यसर्थ वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धको नियमन र नियन्त्रण सूचना प्रविधिले गरिरहेको छ भन्दा अतिसोक्ती हुँदैन् ।
सूचना र प्रविधिको विकासको यस युगमा कुटनीति र अन्तर्राष्ट्रिय नीति निर्माणमा जनस्तरको प्रभाव व्यापक वढेर गएको छ । आजको अन्तर्राष्ट्रिय सम्बन्ध राज्यहरुबीचको सम्बन्धले मात्र निर्क्यौल गर्न सक्ने अवस्था छैन् । जनता वा नागरिकहरुको विदेश नीति निर्माण र सञ्चालनमा महत्वपूर्ण भूमिका देखा परेको छ । विश्वव्यापी मुद्धाहरु र विदेश नीति, राष्ट्रहरुको सम्बन्धको निर्धारणमा अन्तार्राष्ट्रिय गैरसरकारी संघसंगठनहरु, विभिन्न बहुराष्ट्रिय कम्पनीहरु, वौद्धिक समुदाय, सञ्चार जगत, मानवाधिकारवादीहरु आदिको प्रत्यक्ष भूमिका रहन थालेको छ । त्यसैले विगतको तरिकाले अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति सञ्चालन गर्न असम्भव भईसकेको छ । २१औं शताब्दीको अन्तर्राष्ट्रिय सम्बन्ध मानवको आधारभूत आवश्यकताको खाद्य सुरक्षा र जीवनको सुरक्षादेखी विश्वव्यापी जलवायु परिवर्तन, साईवर प्रविधिको सुरक्षा र प्रयोगसम्म सरोकारका मुद्धाहरु बनेका छन् । साईवर संचार विश्वमा सुरक्षा र कुटनीतिको नयाँ विधाको रुपमा देखा परेको छ तसर्थ राष्ट्रको विदेश नीतिका औजारहरु, रणनीति र तरिकाहरुमा परिवर्तित विश्व व्यवस्था अनुरुप विज्ञान र प्रविधिको उपयोग गरेर निर्धारण गर्नु पर्ने भएको छ ।
मानिसहरु र विचारको अन्तर्राष्ट्रिय प्रवाहलाई सही ढंगबाट चिन्हित गर्न अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ विधिहरु खोज्नु पर्ने भएको छ । आप्रवासन, रोजगारी, शरणार्थी समस्या र घुमफिर जस्ता विषयहरुलाई प्रविधिको आँखाबाट नियालेर अन्तर्राष्ट्रिय राजनीतिले समाधान निकाल्नु पर्ने भएको छ । राज्यको सार्वभौमिकताको परिधि र परिभाषामा समेत रुपान्तरण हुने अवस्था रहेको छ । राज्यको स्वायत्तता समेत हराएर विश्वव्यापी बहुपक्षीय प्रभावका परिणामहरु देखा परिरहेका छन् । राज्यको भूगोलको सीमाको परिभाषा र प्रवेश प्रदान गर्ने तरिकाहरुमा परावर्तन देखा परेको छ । राज्यको कानुनी हैसियत र अन्तर्राष्ट्रिय कानुनमा फेरवदल भएको छ । समाजको सरल बनावट जटिलतातर्फ मोडिएको छ । कुटनीतिका आयामहरुमा लोकतान्त्रिक शासनको अनिवार्यता थपिन थालेको छ । एक किसिमले भन्दा समाजका सवै कुराहरु अन्तर्राष्ट्रिय नीति, नियम र प्रक्रियाहरुबाट परिचालित हुने परिस्थिति बन्दै गईरहेको छ । यो नै अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिको स्वरुपमा भएको वृहत परिवर्तन हो ।
ताजा समाचार




