लोकतन्त्र र प्रजातन्त्र एकै अर्थ राख्ने शब्द हुन । पहिले प्रजातन्त्र हालका दिनमा लोकतन्त्र शब्दको प्रयोग गर्ने चलन छ । लोकतान्त्रिक शासन व्यवसस्था र लोकतान्त्रिक राज्य दुवैको लागि प्रयुक्त हुन्छ । लोकतन्त्र शब्दको प्रयोग राजनीतिक सन्दर्भमा गरिन्छ । लोकतन्त्रमा अनेक सिद्धान्तलाई स्वीकार गरिएको हुन्छ । अद्यावधिक निर्वाचनलार्ई मूल रुपमा स्वीकार गरिन्छ । जनताद्वारा जनताको लागि जनताको शासन हो नै लोकतन्त्र हो ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाले प्रजातन्त्रका तीन मूलभूत सिद्धान्तहरु छन भन्नु भएको छ । ती तीन सिद्धान्तहरुमा एउटा मात्र पनि व्यवस्थामा छैन भने त्यो प्रजातन्त्रनै होइन । झन तीनवटै छैनन् भने त हुने कुरै भएन । प्रजातन्त्रमा ती तीन तत्व अनिवार्य हुन् : (१) मौलिक र नागरिक अधिकार । नागरिक भन्नाले ती अधिकार उपभोक्तालाई बोध गराउँछ (२) कानूनी राज्य सरकारको निरंकुशता ,सरकारी बिभागहरुको बिशेष गरेर पुलिस र सेनाको अत्याचार र अन्यायको बिरुद्धमा कानूनी कार्यवाहीद्वारा नागरिकमाथि अत्याचार नहोस भनेर कानूनी राज्यको सिद्धान्त प्रजातन्त्रको मूलभूत सिद्धान्तमा भनिएकोछ । (३) राज्य शक्तिको प्रयोग र राज्यको नीति निर्धारणमा नागरिकहरुको अधिकार,निर्वाध उपस्थिति र हस्तक्षेपको सिद्धान्त । यो सिद्धान्त जनताको सार्वभौमिक सिद्धान्तबाट प्रतिफल भएको हो ।
बीपी कोईरालाले नेपालको सन्दर्भमा प्रजातन्त्र,प्रजातान्त्रिक समाजवाद र राष्ट्रियता आदिको बिषयमा बिभिन्न अवस्थामा अभिव्यक्ति दिनु भएको छ । तरुण,बिद्यार्थी,बौद्धिक बर्ग,आफ्ना कार्यकर्ता र आम नेपाली जनतालाई सम्वोधन गर्नु भएको छ ।
तरुणहरुलाई संवोधन गर्दै इतिहासले पन्छाउन लागेका पुराना तत्वहरु अहिले नयाँ तत्वहरुसंग हारिने लडाई लडिरहेका छन् र क्रमशः परास्त हुँदै जानेछन । बिर्ता उन्मुलन,नयाँ कर व्यवस्था नूतन व्यवस्थाका प्राथमिक चरण हुन्,बिस्तार बिस्तार प्रगतिशील सामाजिक शक्तिहरु संगठनको आधारमा समाजले अझ बढी क्रान्तिकारी कदम चाल्नु पर्नेछ । समाजवादी तरुणहरुले आफ्नो संगठनलाई ती प्रगतिशील सामाजिक शक्तिहरुको सहायतामा प्रयोग गर्नु पर्छ । सामन्ती व्यवस्थाले जसको उत्पादनको आधार कृषिमात्र छ आफ्नो व्यवस्थामा जस्तै सुधार ल्याएपनि राष्ट्रिय सम्पत्तिको बढी उत्पादन गर्ने यसमा क्षमता छैन । जमिनलाई सामान्ती व्यवस्थावाट मुक्त गर्नु पर्ने आवश्यकता यस कारणले पनि छ कि सामन्ति व्यवस्थामा जमिनको पूर्णरुपले उपभोग सामाजले गर्न सकेको छैन । जमीनबाट सम्पत्ति जति परिमाणमा समाजलाई प्राप्त हुनु पर्छ त्यति मात्रामा सामन्ति उत्पादन प्रणलीमा सम्भव छैन । देशको दरिद्रता अन्त्य गर्नका लागि सबभन्दा पहिलो व्यवहारिक कदम सामन्ति उत्पादन व्यवस्थाको अन्त गर्नु हो ।
समाजवादका लागि जुन परिणाममा आर्थिक उन्नतिको आवश्यकता पर्छ,त्यो शुद्ध कृषि सम्वन्धी सुधारले मात्र सम्भव छैन । देशलाई औद्योगिक बिकासको आवश्यकता छ । बिभिन्न किसिमका उद्योग धन्दा स्थापित नगरेर ग्रामिण आधारमा मात्र हाम्रो समाजको आर्थिक बिकास सम्भव छैन । देशलाई दरिद्रबाट मुक्त गर्न तथा बिकासको बाटोमा लैजान आज हामीले इतिहासले छाडेको यो अभिभारा अर्थात औद्योगिक क्रान्तिलाई ग्रहण गर्नु परेको छ । समाजवादीहरु यो परिवर्तन, यो आर्थिक क्रान्ति प्रजातान्त्रिक व्यवस्थामा रहेर गर्न चाहान्छन् । प्रजातन्त्र, समाजवादी व्यवस्थाको लक्ष्य तथा लक्ष्यप्राप्तिको साधन हुनेछ ।
प्रजातन्त्र जसमा समानता या आर्थिक न्याय गाभिएको छैन या आर्थिक शोषण बिद्यमान छ , त्यस्तो प्रजातन्त्र प्राण नभएको शरीरमात्र हो। त्यस्तै समाजवाद जसमा प्रजातन्त्र छैन त्यो समाजवाद केवल नारा मात्र हो र शोषणको अर्को नाम हो । हाम्रो नारा हुनुपर्छ –समाजवादको नाममा हामी प्रजातन्त्रको हत्या गर्न दिदैनौ र प्रजातन्त्रको नाममा हामी शोषणलाई स्वीकार गर्दैनौ ।
२०३३ साल पुष १६ गते स्वदेश फर्कने क्रममा उहाँले यस अवसरमा एक दुई शब्द देशवासीहरु नाममा सम्बोधन गर्नु उचित ठान्दछु भन्दै हाम्रो देश आज राष्ट्रिय संकटमा छ । यता केही वर्षदेखि यी सङ्कट चुलिँदै गएको कुरा सबैले महसुस गरेकै हो । यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ । यस तथ्यलाई अरुले पनि स्वीकार गरेका छन् । महाराजधिराज लगायत सबैले बखत बखतमा राष्ट्रिय अस्तित्व माथि परेको खतराको चर्चा गरेका छन् । यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कदै छौं । हाम्रो विचारमा अस्तित्वको संकट आई पर्नुको मुख्य कारण राष्ट्रिय एकताको अभाव हो । जसले गर्दा हाम्रो देश बिदेशी तत्व कुचक्र चलाउन र नेपाललाई अन्तर्रार्िष्ट्रय सन्तको अखडा बनाउन सफल हुन थालेका छन् ।सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट मात्र हुने अभियानबाट मात्र राष्ट्रिय एकता स्थापित हुन्छ। यसको सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ । कोरा नाराले मात्र हुने भए बितेका १६ वर्षम्म राष्ट्रियता यसरी छिन्न भिन्न भएर यस सोचनिय स्थितिमा देशले पुग्नुपर्ने थिएन । आज देशमा स्वार्थ प्रर्याप्त साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेश पट्टि आमुख हुने प्रवृत्ति बोलबाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिला हत्या राष्ट्रियताको हुन्छ । हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो । त्यसो हुनाले हामीले प्रजातन्त्र पक्ष मात्र बढी जोड दियौ । आज यसमा एउटा नयाँ आयाम थपिएको छ । नेपाली कांग्रेससामु आज दोहोरो जिम्मेवारी आइपरेको छ । यो दोस्रो जिम्मेवारी हो । देशको अस्तित्वको रक्षा गर्ने हामीले वर्तमान नेपालको पहिलो दुई मुखे रुप देखेका छौं भन्नु भएको छ ।
यहि अपीलमा राष्ट्रियता र प्रजातन्त्रको सम्वन्धमा प्रजातन्त्र प्राप्ति र राष्ट्रको रक्षा दुई जिम्मेवारी नेपालीले लिनुपरेको छ । हामीले प्रजातन्त्र प्राप्ति मात्र जोड दिने राष्ट्रिय संकटको निवारणमा हाम्रो योगदान रहँदैन । त्यतिमात्र होइन यस्तो एकपक्ष कारणले हामी बिदेशी अर्को चालमा पर्ने खण्डमा हुन्छौँ । त्यस्तै यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा गरौं भने १६ वर्षको खोक्रो राष्ट्रियताको नारामा लाग्छौं र अधिनायकवादको पक्षधर हुन पुग्छौ । यस्तो खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने मनोबल देशवासीमा पैदा गर्न सक्दैन यसो हुनाले हामीले यो कुरा पनि बुझ्नु परेको छ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुनसक्छ र प्रजातन्त्रको जगमा मात्र देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक अब व्यवस्थामा मात्र बलियो हुनसक्छ । तसर्थ हाम्रो दृष्टिमा राष्ट्रियता प्रजातन्त्र र विकास उन्नति एकअर्कामा आधारित तत्व हुन् भनी राष्ट्रियता र प्रजातन्त्रको अन्तर सम्वन्धलाई पनि अपीलमा सम्वोधन गर्नु भएको छ ।
प्रजातन्त्र नभएको खण्डमा बिकास पनि अवरुद्ध भएर जान्छ । जस्तो राजनैतिक दृष्टिकोणले समानताको सिद्धान्तलाई प्रजातन्त्रले स्थापित गर्दछ त्यस्तै आर्थिक दृष्टिले समानताको सिद्धान्तलाई समाजवादले स्थापित गर्दछ । समाजवादको आदर्श स्थिति त उत्पादनको चरम बिकास हो जसमा समाजका सवै व्यक्तिलाई उनीहरुको आवश्यकता अनुसार उनीहरुको भौतिक मागहरुको पूर्ति समाजद्वारा हुने व्यवस्था हुन्छ । म प्रजातान्त्रिक समाजवादको स्थपनामा लागेको हुँ र नेपाली कांग्रेसको लक्ष्य पनि त्यहि हो । राष्ट्रलाई बचाउने जिम्मेवारी सबैको साझा जिम्मेवारी हो ।
यसरी गर्नु भएको छ वीपीले मेलमिलपको समिक्षा
बीपी कोईरालाले राष्ट्रिय मेलमिलापको पाँच वर्षको समिक्षा गर्ने क्रममापाँच बर्ष पहिले म र मेरा साथीहरु यहाँ फर्केका हौं,तपाईहरुलाई थाहा छ । त्यो फर्किनु भन्दा पहिले हामीहरुले धेरै छलफल गर्र्यौँ । राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिहरूको धेरै मूल्यांकन गर्यौ । धेरै विश्लेषण गर्यौ । किन भने त्यत्रो ठूलो सशस्त्र क्रान्तिको आह्वान गरेर,त्यत्त्रा काण्डहरू घटित भइसकेपछि नेपाल फर्किनु भनेको बडो ठूलो खतरा र दुस्साहसको कुरा थियो । त्यसो हुनाले त्यो खेलाची खेलाचीमा कोही मान्छेले त्यस्तो दुस्साहसको कदम उठाउन सक्दैनथ्यो। हामीहरुले,त्यसकारणले राष्ट्रीय र अन्तर्रािष्ट्रय परिस्थितिहरूको बडो सुक्ष्म विवेचना गर्यौ । त्यसो गर्दा हामीहरू ३/४ नतिजाहरुमा पुग्यौ ।
एक नतिजामा के पुग्यौ भने १ पुषका दिन जुन पर्व घटित भयो, त्यसबाट यसरी देख्ता त प्रजातन्त्रको हत्या भयो । अर्को कुरो कसैको ध्यानमा थिएन साँच्चै भन्ने हो भने हामीहरूको पनि ध्यानमा थिएन । महाराजधिराजको ध्यानमा त पटक्कै थिएन । महाराजाधिराजको ध्यानमा त आजसम्म पनि छ कि छैन , मलाई थाहा छैन परिस्थितिको विवेचना गर्दा हामीले के पायौ भने त्यस काण्डले केवल महाराजाधिराजलाई पहिलेको श्री ३ मात्रै बनाएन, एउटा स्वच्छाचारी शासक मात्रै बनाएन त्यसले प्रजातन्त्रलाई समाप्त मात्र गरेन कि त्यसले बिदेशीहरुलाई बडो ठूलो अवसर दियो,यहाँको राजनीतिमा सक्रिय भूमिका खेल्न । जसको परिणामस्वरूप बिदेशीहरु एउटा ठूलो शक्तिको रुपमा यहाँ विकसित हुन पाए। प्रजातन्त्रले उनीहरुलाई बाधा उपस्थिति गरेको थियो, विदेशीहरूको घुसपैठलाई बाधा उपस्थित गरेको थियो । राजालाई केवल यति मात्रै लागेको थियो कि उनको स्वेच्छाचारितामा बाधा पर्यो । उनीलाई भन्दा बढी ठूलो बाधा त विदेशीहरुलाई परेको थियो। विदेशीहरु घुसपैठ गर्न खोजिरहेका थिए । त्यो समाप्त भएपछि प्रजातन्त्र र जनताको राजनीति समाप्त भएपछि यी विदेशीहरूको राजनीतिले मौका पायो त्यो हामीलाई राष्ट्रिय र अन्तर्राष्ट्रय परिस्थितिको विवेचना गर्दा झल्यास भयो । विवेचनाबाट हामी यस परिणाममा आयौ कि यो सोह्र/सत्र वर्षको अवधिमा एउटा तत्व मात्रै लाभान्वित भएछ त्यो विदेशी तत्व । राजा भन्ने तत्व गौड भएर जाने रहेछ, प्रजा त थिचिएका थिचिएकै थिए । यो निष्कर्षमा हामीहरु पुग्यौ । आफ्नो विश्लेषण द्वारा ।
बीपी कोइरालाले नेपालको राष्ट्रियता संकटमा छ भनी गर्नु भएको बिश्लेषण र हालको अवस्थाका सम्वन्धमा हेर्ने हो भने बिदेशीहरु नेपालमा अवाञ्छित राजनैतिक गतिबिधि संचालन गर्छन भन्ने स्पष्ट हुन्छ । यो दृश्य नेपालको संबिधान निर्माण र जारी गर्ने क्रममा पनि राम्रोसंग देखिएको हो । त्यसबेला अवाञ्छित राजनैतिक गतिबिधी भएकै हुन । जसको प्रभाव संबिधानमा त परेकै हो र परिणाम अहिले बिस्तारै देखिन थालेको छ । यसले नेपालको राष्ट्रियतामा धमिरा त लाग्ने छ नै नेपालमा राजनैतिक अस्थिरता पनि कम हुनको साटो झन झन बढेर जाने निश्चित छ ।
हाम्रो मुलुकमा भने अवाञ्छित राजनैतिक गतिबिधि मात्र होइन हालका केही बर्षदेखि यस्ता समाज सेवाका नाममा दर्ता भएका संस्थाहरुले मुलुकका दुर्गम बिकट गाउँमा बसोवास गर्ने नेपालीलाई ईसाईकरण गर्ने गरेको तथ्य फेला परेको छ । यस्तो कार्यले नेपालको राष्ट्रियतामा आँच पुर्याउँछ भन्ने यथार्थ सत्य हो । गैरसरकारी संस्था हाबी हुँदा मुलुकको राष्ट्रियतामा आँच पुग्छ भन्ने कुराको प्रमाणित श्रीलंका र रुसले यस्ता संस्थामाथि प्रतिबन्ध लगाएपछिको अवस्थाले गर्छ । नेपालमात्रै बिश्वमा त्यस्तो देश होला जहाँ गैरसरकारी संस्थाहरुलाई सबै गतिबिधी गर्ने छुट छ । जसलाई डलरको खेती पनि भन्ने गरिन्छ ।




