मधेश प्रदेश

सङ्घीयता सहितको उपलब्धिको रक्षा गर्दै अगाडी बढ्न जरुरी :मुख्यमन्त्री सिंह

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शहीदहरूको बलिदानीका कारणले प्राप्त भएको सङ्घीयता सहितको उपलब्धिको रक्षाका गर्दै अगाडी बढ्नुको कुनै विकल्प नभएको बताएका छन् ।

मुख्यमन्त्री सिंहले मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गतको मधेशी शहिद प्रतिष्ठानद्वारा आज जनकपुरधामको महेन्द्र नारायण निधी मिथिला संस्कृति भवनमा आयोजित ७ औँ बलिदानी दिवसको कार्यक्रममा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिका लागि एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

उनले मधेशको समृद्धि र विकासका लागि मौजुदा धेरै संघीय ऐन कानुनहरू बाधक भएका कारणले प्रदेश सरकारले चाहेर पनि काम गर्न नसकेको बताउँदै ठूला उद्योगको स्थापना गर्न नपाउनु चिन्ताको विषय भएको बताए ।

उनले शहीद परिवार तथा घाइते परिवारका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३ करोड ६१ लाख बजेट विनियोजन गरेको बताउँदै सहिद परिवारलाई प्रदेश सरकारले प्रति परिवार ३ लाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए।

कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेशमा मधेशीको अधिकार स्थापित गर्नका लागि शहादत दिएका शहीदहरूको सपना साकार पार्ने गरि प्रदेश सरकारबाट ठोस कामकाज नभएकोमा दुःख व्यक्त गर्दै मधेशी जनतालाई प्रदेशको अनुभूति गराउन आवश्यक भएको बताए ।

सभापतिको आसनबाट मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि नै सबै सहिद परिवारका पाँच जना सदस्यका स्वास्थ्य बिमा गर्न लागेकाले स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन आग्रह गरे ।

मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवाल, मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतो, विभिन्न दलका प्रदेश सभाका सदस्यहरुले बोलाएका थिए ।

कार्यक्रममा सहभागी सहिद परिवारका सदस्यहरूलाई मुख्यमन्त्री सतिश कुमार सिंहले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *