राजनीति

जेनजी आन्दोलनमा तोडफोड र आगजनी योजनाबद्ध षड्यन्त्र : पोखरेलको आरोप

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीलाई योजनाबद्ध षड्यन्त्रको परिणाम भएको दाबी गरेका छन्। बिहीबार च्यासलस्थित क्षतिग्रस्त एमाले कार्यालयको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राज्यका संवैधानिक निकाय र राजनीतिक दलका कार्यालयमाथि भएको आक्रमण कुनै स्वतःस्फूर्त घटना नभई संगठित योजना अन्तर्गत भएको टिप्पणी गरे।

उनका अनुसार एमालेले विधान महाधिवेशनमार्फत जेनजी पुस्ताका मागहरू सम्बोधन गर्ने प्रतिवद्धता जनाइसकेकाले त्यसको भोलिपल्टै भएका तोडफोड र आगजनी घटनाले आन्दोलनका नाममा अन्य उद्देश्य लुकाइएको संकेत गर्छ। पोखरेलले भने, ‘जननिर्वाचित संस्थाहरूमाथि आक्रमण हुनु, पार्टी कार्यालय जलाइनु र मूल्यवान् सामग्रीहरू नष्ट हुनु बहुदलीय लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गर्ने तत्वहरूको संलग्नता भएको प्रमाण हो।’

उनले यस्तो आपराधिक र षड्यन्त्रपूर्ण गतिविधिको सबै दल र शक्तिहरूले मिलेर प्रतिरोध गर्नुपर्नेमा जोड दिए। साथै एमाले कार्यालयसमेत जलाइएपछि पार्टीले अझ उच्च मनोबलका साथ नयाँ ढंगले अघि बढ्ने स्पष्ट गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *