काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि अन्ततः प्रतिस्पर्धात्मक चुनावमा जाने निर्णय भएको छ। पोखरामा जारी महाधिवेशनमा अध्यक्ष पदका लागि क्षितिज थेबे र सुमन पुरीबीच सीधा टक्कर हुने लगभग निश्चित भएको छ।
महाधिवेशनमा प्रारम्भिक चरणमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिएको थियो। तर, दुवै पक्ष आआफ्नै अडानबाट पछि नहट्दा निर्वाचन प्रक्रियामा जानु परेको हो।
१,७५१ जना प्रतिनिधिको अन्तिम मतदाता नामावली सार्वजनिक भइसकेको छ। सोमबार बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदान हुनेछ। मतदान सकिनेबित्तिकै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
समर्थनको समीकरणमा क्षितिज थेबे पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा र सुमन पुरी विष्णु पौडेलसहित केही केन्द्रीय नेताहरूको पक्षमा रहेका छन् । युवा संगठनको नेतृत्व कसले सम्हाल्छ भन्ने प्रश्न अब मतपेटिका खोलिएपछि मात्रै टुंगो लाग्नेछ। चुनावी नतिजाले एमालेभित्रको आन्तरिक सन्तुलन पनि संकेत गर्नेछ।





