राजनीति

‘०८४ सम्म कांग्रेस–एमालेको सहकार्य कायम रहनेछ’ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले हालको कांग्रेस–एमाले गठबन्धन २०८४ को निर्वाचनसम्म कायम रहने ठोकुवा गरेका छन्। मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनको मुख्य उद्देश्य अझै अधुरो रहेको भन्दै सहकार्य लामो समय टिक्ने दाबी गरे।

भट्टराईका अनुसार कांग्रेस र एमाले दुबै ठूलो दल भएकाले कहिलेकाहीँ मतभेद देखिनु स्वाभाविक हो। तर, समान हिस्सेदारीको प्रयासले गठबन्धनलाई कमजोर पार्ने होइन, अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

सरकारले गलत बाटो नलिएको भए पनि अपेक्षाअनुसार गति लिन नसकेको भट्टराईको भनाइ छ। सत्तारुढ दलभित्रैबाट हुने आलोचना स्वाभाविक भए पनि त्यसले दुई पार्टीबीचको सम्बन्धमा असर नपारोस् भन्नेमा नेता–कार्यकर्ताले सतर्क रहनुपर्ने उनको धारणा छ।

साथै, उनले संवैधानिक निकायमा प्रमुख नियुक्ति लगायतका विषयमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिए। संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक छैन भन्दै, सहमति भने विषयगत एजेन्डामा हुनुपर्ने उनको तर्क छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *