काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको पारिवारिक झगडा फेरि सतहमा आएको छ। संरक्षक रेशम चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठ र संघीय सांसद लालवीर चौधरी एउटै परिवारभित्र भए पनि पार्टी लगातार अन्तरद्वन्द्वमा फँस्दै गएको छ।
ताजा विवाद सुरु भएको हो जब लालवीर चौधरीले संसदमा रेशम चौधरीको गिरफ्तारीमा गृहमन्त्रीसँग जवाफ मागेका थिए। तर, उनले अध्यक्ष रञ्जितामाथि गृहमन्त्रीलाई जवाफ नदिन दबाब दिएको आरोप लगाएपछि विषय व्यक्तिगत आरोप–प्रत्यारोपमा रूपान्तरित भयो।
लालवीरको दाबीअनुसार, “रञ्जिताले गृहमन्त्रीसँग मिलेर रेशमलाई पक्राउ गराएकी हुन्।” उनी भन्छन्, “उहाँले भने, अब जवाफ दिनु पर्दैन, संरक्षकसँग कुरा मिलाइसकेको छु।”
रञ्जिताको जवाफ के छ ?
रञ्जिताले लालवीरको आरोपलाई कपोकल्पित बताउँदै ससुराको मानसिक स्वास्थ्य राम्रो नभएको टिप्पणी गरेकी छिन्। “उहाँ केही समयदेखि बिरामी हुनुहुन्छ, औषधिको असरले यस्तो स्टाटस लेख्नुभएको हुनसक्छ,” उनले जनआस्थासँग भनिन्। उनी भन्छिन्, “रेशमजीलाई छुटाउन म आफैं लागिपरेकी थिएँ, मैले गृहमन्त्रीलाई रोक्ने त कुरै भएन।”
यसअघि पनि रेशम र रञ्जिताबीच अध्यक्षताको विवाद गहिरिएको थियो। अहिले जनमत पार्टीसँगको एकता प्रक्रियामै नयाँ विवाद चुलिँदा कार्यकर्ताहरु निराश बनेका छन्।
एक कार्यकर्ताले भने, “सधैं परिवारभित्रै झगडा चलिरहँदा पार्टीको इमेज बिग्रँदै गएको छ।” राष्ट्रिय स्तरको राजनीतिक दल बन्ने तयारीमा रहेको नाउपा अहिले नेतृत्वको व्यक्तिगत कलह र असहमतिको भूमरीमा फसेको देखिन्छ।




