राजनीति

आरआर क्याम्पसको स्ववियु विवादले नेविसंघमा गहिरो दरार, एकपछि अर्को कारबाही

काठमाडौं । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसको स्ववियु निर्वाचनलाई लिएर सुरु भएको विवादले नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्र गम्भीर संगठनात्मक संकट निम्त्याएको छ। वैशाख १७ गते सम्पन्न स्ववियु निर्वाचनमा लोकेश खड्काको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध घोषणा गरिएको थियो। उक्त कार्यसमितिमा अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, स्वतन्त्र, वैज्ञानिक समाजवादी लगायत विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि समावेश थिए।

तर, नेविसंघका आधिकारिक अध्यक्ष पदका उम्मेदवार विनोदराज जोशीलगायतका ६ जनाले निर्वाचन प्रक्रिया विवादास्पद रहेको दाबी गर्दै उच्च अदालत पाटनमा रिट दायर गरे। उनीहरूले संगठनको आधिकारिक निर्णय विना गठबन्धन गरेर उम्मेदवारी फिर्ता गरिएको आरोप लगाए। सोही विषयलाई लिएर नेविसंघले केन्द्रीय सदस्य अशोकसिंह विष्ट, अनुराग (विजय) शाहलगायत ६ नेतामाथि अनुशासन कारबाही गर्दै साधारण सदस्यताबाट समेत निष्कासन गर्‍यो।

तर कारबाहीको प्रतिक्रियास्वरूप, विष्ट र शाहले नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र अनुशासन संयोजक परोपकार अधिकारीमाथि नै उल्टो कारबाहीको पत्र सार्वजनिक गरे। उनीहरूले आरआर क्याम्पसजस्तो स्थानमा, जहाँ २०३६ सालदेखि नेविसंघको कुनै उपस्थिति थिएन, अहिले ५ जना नेविसंघ कार्यकर्तालाई निर्विरोध निर्वाचित गराउनु उपलब्धि भए पनि, नेतृत्वले त्यसलाई अस्वीकार गर्नु अनुचित भनेका छन्। नेविसंघ प्रवक्ता सुरज सेजुवालका अनुसार, संगठनको आधिकारिक उम्मेदवारसँग कुनै समन्वय नगरी निर्णय गरिएकाले उक्त कार्य संगठन विरोधी ठहर गर्दै कारबाही गरिएको हो।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *