राजनीति

राजावादी आन्दोलनले नयाँ मोड लिने जगमान गुरुङको दाबी

काठमाडौं । राजसंस्था पुनःस्थापनाको अभियानमा सक्रिय संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले आन्दोलन चाँडै नै निर्णायक मोडमा पुग्ने दाबी गरेका छन्। उनले जेठको दोस्रो हप्तासम्म अभियान सफल हुने भविष्यवाणी गर्दै सहभागीहरूलाई धैर्य गर्न आग्रह गरे।

तर, राजधानीमा आयोजित युवाहरूको ‘प्रतिवद्धता सभा’मा गुरुङको शान्तिपूर्ण र संयमित आन्दोलनको सन्देशले अपेक्षित प्रतिक्रिया पाएन। उपस्थितहरूले धेरै ढिला भइसक्योू भन्दै आक्रोश जनाए, केहीले ‘अबै मुभ गर्नुपर्छ’ भन्दै होहल्ला गरे।

गुरुङले भने, हामीले आत्तिनु हुँदैन, मात्तिनु हुँदैन। आन्दोलनमा मुहुर्त आवश्यक हुन्छ। साधना बिना परिवर्तन सम्भव छैन। उनले मञ्चमा विभिन्न तान्त्रिक साधकहरूलाई बोलाउँदै उनीहरूको योगदान र आध्यात्मिक तयारीको चर्चा पनि गरे।

सभा केही समय असहज बने पनि उनले स्पष्ट पारे, यो आन्दोलन भाँड्न होइन, सफलता सुनिश्चित गर्न धैर्यको अपिल हो। जेठको दोस्रो हप्तामा हाम्रो अभिष्ट सिद्दि हुनेछ।

गुरुङले पूर्वराजा ज्ञानेन्द्रको उदाहरण दिँदै राज्य फेरि जनतामार्फत राजालाई सुम्पनुपर्ने धारणा दोहोर्याए। उनले भने, अब राजा र जनताको बीचमा कोही बिचौलिया हुँदैन। यो आन्दोलन टाढा जाँदैन, हामी नजिक पुगिसकेका छौं।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *