
काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा आन्दोलनरत पक्ष र सरकारी प्रतिनिधिबीच भएको वार्ता निष्कर्षविहीन बनेको छ ।
गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा गठित सरकारी वार्ता टोलीको सट्टा उच्चस्तरीय राजनीतिक नेतृत्व अर्थात् मन्त्रीसँग मात्रै छलफल गर्न सकिने आन्दोलनरत पक्षको मागपछि वार्ता रोकिएको छ ।
आइतबार उनीहरुले छलफलमा यसअघिका सहमति कार्यान्वयन नभएकाले कर्मचारी तहसँग थप वार्ता नगर्ने अडान लिएका हुन् । सरकारले वार्ता टोली गठन गरेपछि आफूहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेको तर सरकारले पक्राउ परेकालाई विनाशर्त छाड्नुपर्नेमा धरौटी लिएको भन्दै आपत्ति जनाइएको छ ।
वार्तामा आन्दोलनकारीहरुको तर्फबाट अमर तुम्याहाङको संयोजकत्वमा गठित टोली सहभागी भएको थियो । केबलकारको माथिल्लो स्टेसनमा थालिएको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच माघ २२ गते सहमति भएको थियो ।
सरकारसँगको सहमतिसँगै उक्त समूहले पूर्वका विभिन्न जिल्लामा गरेको चक्काजाम लगायतका कार्यक्रम स्थगित भएको थियो । सरकार र आन्दोलनरतपक्षबीच भएको ६ बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा आइतबार छलफल भएको थियो । आजको वार्तामा आन्दोलनरत पक्षले उच्च राजनीतिक नेतृत्वसँग मात्र वार्ता गर्ने अडान लिएपछि वार्ता विनाकुनै निष्कर्ष टुंगिएको हो ।