
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बस्दैछ । जसपा नेपालका सांसद दिपक कार्कीले अध्यादेशबारे छलफल गर्न संसदीय दलको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने समय निर्धारण भएको जानकारी दिए ।
जसपा नेपालले कार्यकारिणी समितिको बैठकबाट उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्यादेशहरूबारे अध्ययन गरेको उनले बताए । उक्त कार्यदलले गत मंगलबार र बुधबार गरेर १० जना विज्ञसँग छलफल गरेको थियो ।
विज्ञसँगको छलफलको आधारमा कार्यदलले सुझावसहितको प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनउपर गत शुक्रबार समेत छलफल भएको थियो । तर, शुक्रबार संघीय संसद्को दुवै सदनको कार्यसूचीबाट अध्यादेश अगाडि बढाउने कार्यक्रम हटाइएको भनेर कुनै निर्णय गरेको थिएन । आइतबार बस्ने दुवै सदनको बैठक बस्दैछ ।