काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विनिता कठायतले पोखरास्थित होटल ओपन हाउसको सिसिटिभी फुटेज झिकाउन माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिमा लिखित निवेदन दिदैँ उनले समितिका सदस्यहरु बसेको सो होटलको पुस २९ गतेको सिसिटिभी रेकर्डसहित खर्च विवरणको बिल–भर्पाइ झिकाउन माग गरेकी हुन् ।
गत बुधबार बसेको समितिको बैठकमा सभापति कुसुमदेवी थापा र सांसद कठायतबीच चर्काचर्की समेत भएको थियो । अनुगमनका क्रममा उक्त होटलमा बसेका बेला आफूमाथि ‘ह्यारेसमेन्ट’ भएको र एनजिओको रक्सी खाएर रास्वपा नेताहरुको नीजि जीवनबारे चर्चा गरेको भन्दै चर्को आलोचनामा उत्रिएकी थिइन् । अनुगमनको क्रममा सँगै रहेका समितिका अन्य सदस्यहरुले कठायतको भनाईमाथि आपत्ति जनाउँदै उनले भनेका कुरामाथि कुनै सत्यता नभएको समेत बताउँदै आएका छन् । उनले ‘पोखरा साँझ’को कुरा सार्वजनिक गर्न माग गर्दै समितिको सचिवालयमा निवेदन दर्ता गराएकी हुन् ।
उनका अनुसार अनुगमन भ्रमणको सन्दर्भमा पुस २९ गते समिति सदस्य बसेको होटल ओपन हाउस पोखराको राति ८ देखि १० बजेसम्मको सिसिटिभीको फुटेज तथा उक्त दिन भएको खर्च विवरणको बिल भर्पाइ झिकाउन माग गरिएको छ । सो दिन दिन होटलमा ‘दारु पार्टी’ चलेको थियो । जहाँ सभापति थापासहित एमालेकी सांसद सरस्वती सुब्बा र नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले मदिरापान गरेको उनको दाबी छ ।





