मुख्य समाचार

विकास निर्माणको काम प्रकृतिमैत्री ढङ्गबाट गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको उल्लेख गर्दै विकास निर्माण गर्दा प्रकृतिको ख्याल गर्नुपर्नेमा जोड दिएका छन् ।

आज सोलु दूधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुने उल्लेख गर्दै प्रकृतिलाई कम हानी गर्दै विकास निर्माण गर्नुपर्ने धारणा राखे ।

“विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ, हामीलाई विभिन्न घटनाक्रमले पनि सिकाएको छ”, उनले भने , “गाउँ ठाउँलाई जोगाउने हो भने वातावरणलाई हामीले ध्यान दिनैपर्छ ।” उनले प्रशासकीय भवन निर्माण भएपछि पालिकाको सेवा प्रवाह प्रभावकारी हुने र नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गरे ।

पर्यटकीय हिसाबले सोलुखुम्बु उत्कृष्ट गन्तव्य रहेको उल्लेख गर्दै उनले ४० वर्ष अगाडि पिता गणेशमान सिंहसँग सोलुखुम्बु आएको स्मरण गरे । तत्कालीन समय र अहिले हेर्दा आफूले सोलुखुम्बुमा विकास निर्माणको हिसाबले धेरै परिवर्तन पाएको उनको भनाइ थियो ।

अहिले व्यवस्था फेरियो अवस्था फेरिएन भन्दै गलत भाष्य बनाउन खोजिएको भन्दै उनले त्यो सत्य नभएको स्पष्ट पारे । उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता र आर्थिक विकासका लागि अहिलेको सरकारले काम गरिरहेको र जनतालाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पारे ।

उपप्रधानमन्त्री सिंहले शिलान्यास गरेका प्रशासकीय भवन पालिकाको आन्तरिक स्रोतबाट दुई वर्षभित्रै बनाइसक्ने पालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताए । कार्यक्रममा रक्षामन्त्री मानबहादुर राई पनि सहभागी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *