देश

सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै, दिउँसो चुनाव–अपराह्न शपथ

काठमाडौँ । सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन गर्न आज समितिका बैठक हुँदैछन् । प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुई गरी १२ समितिका सभापतिको निर्वाचन हुन लागेको हो ।

प्रतिनिधिसभाको अर्थसमितिको सभापतिमा डा कृष्णहरि बुढाथोकी, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारी, कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल र सार्वजनिक लेखासमितिको सभापतिमा भरतबहादुर खड्काको मनोनयन दर्ता भएको छ ।

महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा ओजस्वी शेरचन र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गुरुप्रसाद बरालको मनोनयन दर्ता भएको छ ।

सङ्घीय संसद्को संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापतिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिष्ट पार्टीका सांसद मदनकुमारी शाह (गरिमा) को उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचित सभापतिहरुको शपथ आजै अपराह्न ४ः०० बजे हुने भएको छ । उनीहरुलाई सभामुख डोलप्रसाद अर्यालले शपथ गराउनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *