राजनीति

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोरो बोली,उपनिर्वाचनमा तालमेल गरेर अघि बढ्ने नीति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सत्ता पक्षलाई चुनौती दिन निर्वाचनमा एक्लै लड्ने बताए पनि आगामी मंशिर १६ गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न राजनैतिक दलसँग तालमेल गरेर अगाडी बढ्ने नीति लिएका छन् ।

प्रचण्डले सार्वजनिक कार्यक्रमहरुमै एकल बहुमत ल्याउने भन्दै तयारीमा जुट्न निर्देशन दिएका थिए । तर पछिल्लो समय सत्ताबाट बाहिरिएपछि जनतासँग घरदैलो कार्यक्रमबाट माओवादी केन्द्रले मात्र निर्वाचनमा बहुमत ल्याउन नसक्ने चाल पाएपछि तालमेलको रणनीति बनाएको माओवादी नेताहरु बताउँछन् ।

माओवादी केन्द्रले पार्टीको मातहतका कमिटीलाई सर्कुलर नै पठाएर स्पष्ट पारेको छ । माओवादी सोमबार केन्द्रीय कार्यालयबाट स्थानीय तह उपनिर्वाचनका सन्दर्भमा ‘विशेष परिपत्र’ जारी गरेर माओवादी केन्द्रले आगामी निर्वाचनमा विभिन्न पार्टीसँग तालमेल गरेर अघि बढ्ने विषयमा छलफललाई अगाडी बढाएको हो ।

हाललाई एकल रूपमा चुनाव लड्नेगरी तयारी गर्ने तर अन्य दलसँग सहकार्य गर्नेबारे पहल भने जारी राख्नेगरी परिपत्र भएको भएको माओवादी निकट नेताहरुले बताउँदै आएका छन् । गत साउनमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आगामी आम निर्वाचनमा तालमेल नगर्ने र आफ्नो शक्तिमा चुनाव लड्ने निर्णय गरेको थियो । जनतासँग सम्बन्ध टुटेकाले अब तलसम्म जानेगरी कार्यक्रम बनाउने र चुनावसम्म सबै जनासम्म पुग्ने निर्णय भएको त्यतिबेला उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले बताएका थिए । तर एक्लैले आगामी निर्वाचनमा विजय हासिल गर्न सक्ने अवस्था नदेखिएपछि प्रचण्डले चलाखी बाटो रोजेका छन् ।

पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत पार्टीका कार्यक्रमहरूमा एक्लै चुनाव लड्ने पार्टीको दोलखा–काठमाडौँ सम्पर्क–समन्वय समितिले असोज १९ गते गरेको कार्यक्रममा पनि बताएका थिए । यस्तै गृहजिल्ला चितवनमा पनि प्रचण्डले सोही कुरा बताएका थिए । प्रेस सेन्टर नेपाल चितवन शाखाले आइतबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने दाबी गरे । तर पछिल्लो समय जनतालाई भ्रममा पार्नका लागि मात्र प्रचण्डले यस्तो बोलेको प्रचण्डको बारम्बार फेरिने बोलीले थाहा हुँदै गएको मतदाताहरु बताउँछन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि आयोगमा २५ वटा दल दर्ता भएका छन् । जसमा माओवादीले नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, आम जनता पार्टीका साथै राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि सहकार्य गर्न सक्नेछ । रास्वपा पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुन लागेको हो ।

स्थानीय तहको उपचिर्वाचन नजिकिएसँगै माओवादी केन्द्रले निर्वाचनमा बलियो मत ल्याउन के गर्न सकिन्छ भनेर दलहरुसँगको छलफललाई तिव्रता बढाएका छन् । अन्य दलसँग गठबन्धन नगरी निर्वाचन जित्न नसकिने माओवादी केन्द्रले आन्तरिक निष्कर्ष निकालिसकेको छ । सोही अनुसार दलहरुसँग तालमेल गरेर निर्वाचनमा होमिने माओवादी केन्द्रको दाउ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *