नुवाकोट। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रिपोर्ट कार्ड आफूहरूले मागिरहेको बताएका छन्।
दाहाल प्रधानमन्त्री बनेको पुस १० गते एक वर्ष पुग्दैछ।प्रधानमन्त्री दाहालले मन्त्रीहरूलाई पुस ५ देखि १० गतेसम्म काठमाडौं उपत्यका नछाड्न भनेको सुनिएको उल्लेख गर्दै कोइरालाले प्रधानमन्त्रीकै रिपोर्ट कार्ड माग गरिएको बताए।
नुवाकोट कांग्रेसको जिल्ला सम्मेलनलाई सोमबार सम्बोधन गर्दै कोइरालाले भने, ‘सरकारको कामकारबाहीको कुरा आइराखेको छ।

संसदीय व्यवस्थामा मन्त्रीहरूले जतिसुकै काम गरे पनि त्यसको जसअपजस प्रधानमन्त्रीले लिनुपर्ने उनले बताए। ‘अनि प्रधानमन्त्रीले मन्त्रीका रिपोर्ट कार्ड लिने? हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो। प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ,’ उनले भने।
अहिले गणतन्त्रमाथि देशैभर आक्रमण भइरहेको कोइरालाले बताए। ‘जनतामा निराशा र आक्रोश छ, स्वभाविक हो,’ उनले भने, ‘जनताको आक्रोश गणतन्त्रप्रति होइन, नेतृत्वप्रति हो। हामीले राम्रो काम गरियो भने गणतन्त्र र राजतन्त्रका कुरा ओझेलमा पर्छ।’

उनले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए।




